भारतको बिहारस्थित रक्सौलमा करिब ४ करोड भारतीय रुपैयाँ मूल्यको स्म्याक नामक लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। संयुक्त प्रहरी टोलीले उनीहरूको साथबाट १ किलो ८०६ ग्राम स्म्याक, नयाँ स्कर्पियो गाडी, दुई थान मोबाइल, एक थान लकेट तथा सुनजस्तै देखिने धातु बरामद गरेको छ।
प्राप्त विवरणअनुसार, गोप्य सूचनाका आधारमा रक्सौल थाना अध्यक्षको नेतृत्वमा सशस्त्र प्रहरी बल रक्सौल तथा एसटीएफ मोतिहारीको संयुक्त टोलीले अपरेसन सञ्चालन गरेको थियो। सोही क्रममा शंकास्पद स्कर्पियो गाडी रोकेर खानतलासी गर्दा ठूलो परिमाणमा स्म्याक लागुऔषध बरामद भएको बताइएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रक्सौल थाना क्षेत्रको वडा नम्बर १४, मौजे निवासी रमेश कुमार र पलनवा थाना क्षेत्रको बहुअर्वा निवासी सन्दीप कुमार रहेका छन्।
संयुक्त प्रहरी टोलीले बरामद लागुऔषध, स्कर्पियो गाडी, मोबाइल तथा अन्य सामग्री नियन्त्रणमा लिएको छ। बरामद स्म्याकको अनुमानित मूल्य करिब ४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार, उक्त लागुऔषध नेपालतर्फ पठाउने तयारी भइरहेको आशंका गरिएको छ। यद्यपि, लागुऔषधको स्रोत, यसको कारोबारमा संलग्न अन्य व्यक्तिहरू तथा नेपाल पठाउने योजनाबारे थप अनुसन्धानबाट विस्तृत विवरण खुल्ने अपेक्षा गरिएको छ।
सीमावर्ती रक्सौल क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी तथा अनुसन्धानलाई तीव्रता दिँदै आएका छन्। यस घटनाले सीमापार लागुऔषध कारोबार नियन्त्रणका लागि भारतीय तथा नेपाली सुरक्षा निकायबीच समन्वय र सतर्कता आवश्यक रहेको देखाएको छ।
























