अभिलाष गुप्ता
बैशाख ०५ बिरगंज
बारा प्रहरीले विभिन्न स्थानबाट ३६७ किलो १४० ग्राम लागूऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका – ३ बजनीबाट प्रहरीले लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका – ४ बस्ने वर्ष ३२ को राजन लामा, हेटौँडा उपमहानगरपालिका – ३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र कैलाश गाउँपालिका – १० बस्ने वर्ष २७ को जीवन ठोकरलाई पक्राउ गरेको हो ।
हेटौडाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३०५ किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक डिएसपी विजयराज पण्डितले दाबी गरेका छन् ।
त्यस्तै डिएसपी पण्डितका अनुसार, इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले २ किलो १४० ग्राम लागूऔषध गाँजासहित प्रसौनी गाउँपालिका -४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहलाई पक्राउ गरिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ६० किलो लागूऔषध गाँजा बरामद गरेको उनको दाबी छ ।
पचरौता नगरपालिका–१ मुसहरीटोल स्थित मकै बारी हुँदै टाउकोमा बोकेर नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको पनि उनले दाबी गरे । भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने बर्ष २५ को राजबिहारी कुमारलाई नियन्त्रणमा लिइएको उनले बताए ।









