अभिलाष गुप्ता
वीरगञ्ज १८ बैशाख
नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण तथा सम्मान कार्यक्रम आज एक भव्य समारोहबीच सम्पन्न भएको छ। वीरगञ्जको क्लासिक बैंक्वेटमा आयोजित कार्यक्रममा एमाले नेताहरू, संघीय र प्रदेश सरकारका मन्त्रीहरू, पत्रकार, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि एमालेका प्रभावशाली नेता योगेश भट्टराई रहेका थिए। उनले पार्टी संगठनलाई बलियो बनाउने र आगामी निर्वाचनका लागि तयार रहन नवनिर्वाचित नेतृत्वलाई आह्वान गरे। “हामी एमालेको संगठनलाई जति सुदृढ बनाउँछौं, त्यो मात्र हाम्रो नीति र सिद्धान्तलाई जनतासमक्ष पुर्याउने मूल आधार हो,” भट्टराईले भने।
विशिष्ट अतिथिहरूको सक्रिय उपस्थिति
कार्यक्रममा नेपाल सरकारका संघीय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ता, मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवाल, एमालेका वरिष्ठ नेताहरू जालिम मियाँ, अर्विन्द सिंह, विजय सरावगी लगायतको उपस्थिति रहेको थियो। उनीहरूले नवनिर्वाचित टोलीलाई बधाई दिंदै संगठनभित्र एकता, समन्वय र समर्पणको आवश्यकता औंल्याए।
सञ्चारकर्मी र समाजसेवीहरूको उपस्थिति
सपथ समारोहमा सञ्चारकर्मी के.सी. लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा लगायतको उपस्थिति उल्लेखनीय रह्यो। पत्रकार बन्जाराले जनप्रतिनिधि र पार्टी नेतृत्वले जनसमस्याको संवेदनशीलतासाथ सम्बोधन गर्नुपर्नेमा जोड दिए।
संगठनात्मक सुदृढीकरणमा केन्द्रित नयाँ टोली
दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीलाई औपचारिक रूपमा सपथ गराइएपछि महानगर कमिटीका पदाधिकारीहरू उत्साहित देखिएका थिए। नवनिर्वाचित अध्यक्षले संगठनलाई बलियो बनाउने, युवालाई आकर्षित गर्ने र स्थानीय तहमा जनसंघर्षलाई तीव्र बनाउने प्राथमिकता रहेको बताए।









