अभिलाष गुप्ता
बैशाख २१ वीरगञ्ज
वीरगञ्ज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा ३५ दिने कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ। वडा कार्यालय र श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय सोलखपुरको संयुक्त आयोजनामा कक्षा ११ र १२ का ३५ जना छात्रछात्रालाई लक्षित गरी सो तालिम सञ्चालन गरिएको थियो।
तालिमको समापन कार्यक्रम वडाध्यक्ष जितेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उनले युवालाई आत्मनिर्भर र दक्ष बनाउने माध्यमका रूपमा प्राविधिक तालिमको महत्व औँल्याउँदै भविष्यमा कम्प्युटर ल्याब स्थापना तथा अन्य तालिमका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
विद्यालयका प्रधानाध्यापक राजु मालीले विद्यार्थीलाई तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्न प्रेरणा दिए। साथै विद्यालयमा स्थायी कम्प्युटर ल्याब स्थापना गर्न उनले वडा कार्यालयसँग अनुरोध गरे।
तालिम मधेश स्किल तालिम इन्स्टिच्युटका प्रशिक्षक धीरज शाह र सन्तोष चौधरीले संचालन गरेका थिए। समापन कार्यक्रममा वडा सदस्य, शिक्षक, अभिभावक प्रतिनिधि र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागी सबै छात्रछात्रालाई प्रमाणपत्र वितरण गरिएको थियो।
आयोजक संस्थाहरूका अनुसार तालिमले विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।









