२०८२ फाल्गुन ३० गते शनिबार

लागु औषध नियन्त्रण तथा रोकथामबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

 

पर्सा, श्रीपुर – लागू औषध नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम श्रीपुर वडा नम्बर १३ र विजाम पर्साको संयुक्त आयोजनामा सम्पन्न भएको छ। सो कार्यक्रम गौतम माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको थियो।

कार्यक्रममा गौतम माध्यमिक विद्यालयका कक्षा ९ का सम्पूर्ण विद्यार्थीहरूको सक्रिय सहभागिता रहनुका साथै कार्यक्रम अत्यन्तै प्रभावकारी र ज्ञानवर्धक भएको सहभागीहरूले बताए।

उक्त अवसरमा लागू औषध सम्बन्धी जानकारी र त्यसको रोकथामबारे मुख्य प्रशिक्षण विजाम पर्साका सामाजिक अभियन्ता तथा प्रशिक्षक सुबोध पौडेलले दिनुभएको थियो। पौडेलले हालको युवापुस्तामा लागू औषधको दुरुपयोग कसरी फैलिरहेको छ र त्यसबाट जोगिनका लागि आवश्यक सावधानी र व्यवहारगत परिवर्तनबारे विस्तृत जानकारी दिनुभयो।

कार्यक्रम गौतम माध्यमिक विद्यालयका निर्देशक सोनम लामाको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष लामाले विद्यार्थीलाई सकारात्मक जीवनशैली अपनाउन र गलत संगतबाट टाढा रहन आग्रह गर्दै, यस्ता कार्यक्रमले दीर्घकालीन असर पार्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक रमेश शर्मा, सौराज प्रधान लगायत अन्य अभिभावक तथा समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। उनीहरूले यस्ता कार्यक्रम विद्यालयस्तरमै नियमित रूपमा सञ्चालन गरिनुपर्ने धारणा व्यक्त गरे।

यो कार्यक्रमले स्थानीय समुदायमा लागू औषधबारे चेतना फैलाउन थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM