वीरगंज–३१ पर्साको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बेल्वा–प्रसौनीमा भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशबाट विनियोजित बजेटमा निर्माण भएको नयाँ विद्यालय भवनको आज एक विशेष समारोहका बीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै भने,
“नेपाल राष्ट्रिय आधारभूत विद्यालय सामान्य नामको संस्था हो, तर यसले गहिरो पीडा बोकेको इतिहास बोकेको छ। आज ७१ वर्षदेखि भत्किएको भवनभित्र थिचिएका सपनाहरू पुनर्जीवित भएका छन्। यो दिन केवल भवनको उद्घाटन मात्र होइन, विश्वास र उज्ज्वल भविष्यको उद्घाटन हो।”
अन्सारीले थपे, “हामीले भवन मात्र निर्माण गरेका छैनौं, हामीले समाजका बेवास्ता गरिएका बालबालिकाहरूको सपना जोगाउने विश्वास पनि निर्माण गरेका छौं। गरिब र विपन्न बालबालिकाहरू अब प्राथमिकतामा छन् भन्ने सन्देश यस विद्यालयको नयाँ भवनले दिएको छ।”
भवन निर्माण मधेश प्रदेश सरकारको बजेटमार्फत सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
























