२०८२ चैत्र १० गते मंगलवार

परवानीपुरमा जनमत पार्टीद्वारा निःशुल्क आँखा शिविर, ८६ जना लाभान्वित

 

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा जनमत पार्टीले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट ८६ जना स्थानीयवासी लाभान्वित भएका छन्। वीरगन्ज सामुदायिक आँखा केन्द्रको समन्वयमा आयोजित उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएकोमा १६ जनामा मोतियाबिन्दको समस्या पाइएको छ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार मोतियाबिन्द भएका सबैको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा आउँदो बिहीबार निःशुल्क शल्यक्रिया गरिनेछ। शिविरमा उपस्थित भएकाहरूमध्ये आवश्यकताअनुसार औषधि वितरण गरिएको पनि उनले जानकारी दिए।

लोककल्याणकारी अभियान अन्तर्गत जनमत पार्टीले आयोजना गरेको उक्त शिविर जनमत पार्टीका नेता डा. मनोज सर्राफको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य विद्यालाल प्रसाद, श्याम गुप्ता, नेताहरू हिरालाल राम, अरुण कुशवाहा, आँखा केन्द्रका सञ्चालक महेश सिंह धामीलगायतको पनि उपस्थिती रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM