पर्सा जिल्ला वीरगंज महानगरपालिका–१९ मा सञ्चालनमा रहेको युनिकर्न मोबिल लुब्रिकेन्ट उद्योगद्वारा वातावरणमा फैलाइएको प्रदूषण र विषाक्त रसायनहरूले स्थानिय क्षेत्रको वातावरणीय सन्तुलनमा गम्भीर असर पारेको भन्दै विरोध सुरु भएको छ।
स्थानीय बासिन्दाहरूको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि राष्ट्रिय समता पार्टी नेपालले जनताको आवाज बुलन्द बनाउँदै सरोकारवाला निकायहरूमा ज्ञापनपत्र बुझाएको छ। पार्टीले जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, र जिल्ला प्रहरी कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउँदै उक्त उद्योगमाथि छानबिनसहित कडा कारबाहीको माग राखेको हो।
पार्टीका अनुसार उद्योगबाट निस्किएको प्रदूषित रसायन खेतमा फालिँदा माटोको गुणस्तरमा ह्रास आएको, फसलमा असर परेको र स्थानीयको स्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको जनाइएको छ।
राष्ट्रिय समता पार्टी नेपालले धर्म, विकास, स्वास्थ्य र जनताको हितका लागि निरन्तर समर्पित रहँदै आएको उल्लेख गर्दै कुनै पनि उद्योग वा पक्षले जनताको स्वास्थ्यसँग खेलवाड गरेमा त्यसविरुद्ध कडा कारबाही आवश्यक रहेको स्पष्ट धारणा व्यक्त गरेको छ।
पार्टीले वीरगंज–१९ का जनताको पक्षमा आफू सदैव अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाउँदै उक्त समस्यालाई लिएर निरन्तर आवाज उठाइरहने बताएको छ।









