२०८२ चैत्र १ गते आईतवार

वीरगन्जमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

 

वीरगन्जमा अवैध हतियारसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा घर भई हाल वीरगन्ज महानगरपालिका–१६ इनर्वा स्थित ससुरालीमा बस्दै आएका ४० वर्षीय साहेब खाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार खाँ कटुवा पेस्तोल बोकी इनर्वा गाउँमा स्थानीयलाई डरत्रास देखाउँदै घुमिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले उनलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो। पक्राउका क्रममा प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार पक्राउ परेका खाँविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिएको र यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कारवाही प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM