२०८२ चैत्र ७ गते शनिबार

कटेयामा दुई घरबाट १९१ बोरा सरकारी मल बरामद, घरधनी फरार

 

पर्साको सखुवा प्रसौनी–२ कटेया गाउँमा दुई घरमा लुकाएर राखिएको १९१ बोरा सरकारी अनुदानको रासायनिक मल प्रहरीले मध्यरातमा छापा मारेर बरामद गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको निर्देशनमा साल्ट ट्रेडिङ, कृषि सामग्री कम्पनी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीको संयुक्त टोलीले बुधबार राति साह महमद अन्सारी र युनुस अन्सारीका घरमा छापा मारेको हो।

साह महमद अन्सारीको घरबाट डीएपी ९ बोरा, पोटास १८ बोरा र फस्फोट ११४ बोरा बरामद भएको छ भने युनुस अन्सारीको घरबाट डीएपी २७ बोरा र पोटास २३ बोरा भेटिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए। बरामद सबै मल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

दुवै घरका मालिक फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। हाल पर्सामा धानबालीका लागि मलको चरम अभाव रहेकाले किसानलाई पठाइएको सरकारी मल ढिलासुस्ती र अनियमितताका कारण खेतसम्म पुग्न नसकेको किसानको गुनासो छ।

कालोबजारीको बढ्दो आरोपपछि प्रजिअ अर्यालले केही दिनअघि मात्र सहकारी सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखलाई बोलाएर वितरण प्रणाली पारदर्शी बनाउन निर्देशन दिएका थिए। त्यसकै अनुगमन क्रममा बुधबार राति कटेयामा ठूलो मात्रामा मल बरामद गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM