राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननीय सुशील कुमार कानु,रास्वपाका युवा नेता सुधिर पटेल,क्षेत्रीय सभापति फैयाज मिया आज बिहान करिब ७:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. २६ अन्तर्गत अठारहाँ टोलस्थित शिव मन्दिरको प्राङ्गणमा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा समस्या संकलन कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रममा वडा नं. २६ का स्थानीय बासिन्दाहरूले माननीय कानुलाई हार्दिक स्वागत, अभिनन्दन तथा धन्यवाद व्यक्त गरेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले आफ्ना दैनिक जीवनसँग सम्बन्धित विविध समस्याहरू बुन्दागत रूपमा प्रस्तुत गरेका थिए।
स्थानीयवासीहरूले विगत तीन वर्षभन्दा बढी समयदेखि करिब ५ सय बिघा कृषि भूमि डुबानमा परिरहेको गम्भीर समस्या उठाउँदै उक्त अवधिको गुठी/राजस्व मिनाहा गरिनुका साथै प्रभावित किसानहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। साथै, कृषिका लागि आवश्यक मल, बिउको समयमै उपलब्धता तथा सिँचाइको स्थायी समाधानका लागि नहरहरूको पुनः सञ्चालन सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन्।
यसैगरी, युवाहरूका लागि ऐलानी जग्गामा खेल मैदान, पार्क, जिम तथा अध्ययनका लागि पुस्तकालय जस्ता संरचनाहरू निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।उक्त विषयहरूमा प्रतिक्रिया जनाउँदै सांसद सुशील कुमार कानुले प्रस्तुत सबै समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यथाशीघ्र आवश्यक पहल गरी प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सांसद कानुले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमै पुगेर जनताको समस्या बुझ्ने अभियानलाई तीव्रता दिँदै संसद् केवल सदनमै सीमित नभई जनताको घरदैलोमै पुग्नुपर्छ भन्ने सन्देश दिएको बताइएको छ। यस अभियानमार्फत जनप्रतिनिधि र जनताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा समस्या समाधानतर्फ अग्रसर हुने प्रयास गरिएको उहाँको भनाइ छ।









