२०८३ बैशाख ३ गते बिहीबार

वीरगंजमा अग्रवालको शव भेटियो

अभिलाष गुप्ता, वीरगंज, १६ चैत । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि शनिवार बिहान एक महिलाको शव फेला परेको छ। मृतकको पहिचान वीरगंज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अंसुईया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।
प्रहरीका अनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुन सक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले भने, “शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ, तर शव परीक्षणको रिपोर्ट आएपछि मात्र यथार्थ कारण खुल्नेछ।”
मृतकको शव परीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पताल पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान शुरू गरेको जनाएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिवार बिहानै शव देखिएपछि इलाकामा त्रास र कौतुहलता फैलिएको थियो।
घटनाले स्थानीय बासिन्दाहरूमा चिन्ता उत्पन्न गरेको छ। वडा नम्बर १६ का एक स्थानीयले भने, “यो क्षेत्रमा यस्तो घटना पहिलोपटक भएको हो, प्रहरीले छिटोभन्दा छिटो कारण पत्ता लगाउँनुपर्छ।” प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको र आसपासका क्षेत्रमा सोधपुछ तथा प्रमाण सङ्कलन गरिरहेको बताएको छ।
शव परीक्षणको प्रतिवेदन र प्रहरी अनुसन्धानको नतिजाले मात्र यो घटनाको वास्तविकता उजागर गर्ने प्रहरीले नाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM