अभिलाष गुप्ता
वीरगञ्ज, १० साउन

पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित एक होटलबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार बिहान करिब ७ः३० बजे प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा नम्बर ११८ मा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा NITCOR-10 लेखिएको २० पत्तामा रहेका २०० वटा ट्याब्लेट तथा ONEREX लेखिएको १०० मिलिलिटरका दुई बोतल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तमकुमार पाठक र पर्साको वीरगञ्ज महानगरपालिका–२ निवासी ३५ वर्षीय ओसिम ठकुराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद लागूऔषधसहित दुवै जनाविरुद्ध लागू औषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























