अभिलाष गुप्ता
बीरगंज,२४ बिरगंज
बीरगंज महानगरपालिकाले शहरको ट्राफिक व्यवस्थापन सुधार गर्ने अभियान अन्तर्गत नयाँ बसपार्क क्षेत्रको अव्यवस्थित पार्किङ नियन्त्रणमा ल्याउन कडा कदम चालेको छ। बिहीबार बिहान, महानगरपालिका र ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरको संयुक्त पहलमा मनपरी पार्किङ गरिएको दुईवटा बसलाई उठाएर हटाइएको छ।
उक्त अभियानको नेतृत्व नगरप्रहरी प्रमुख हरि भुसालले गरेका थिए भने व्यवस्थापनमा ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको विशेष सहयोग रहेको थियो। बसपार्क क्षेत्रमा लामो समयदेखि अवैध पार्किङले यात्रु तथा सवारी साधन आवागमनमा अवरोध पुर्याउँदै आएको जनगुनासोहरू आइरहेका थिए।

नगरप्रहरी प्रमुख भुसालले भने, “शहरमा शहरी सौन्दर्य र ट्राफिक सहजताका लागि पार्किङ व्यवस्था सुधार आवश्यक छ। नियम विपरीत पार्किङ गर्नेप्रति अब शून्य सहनशीलता अपनाइनेछ।”
अध्यक्ष खेतानले जनताको सहयोग बिना पार्किङ समस्या समाधान सम्भव नहुने भन्दै समुदायलाई पनि सचेत र जिम्मेवार बन्न आग्रह गरे। उनले भने, “यस अभियानलाई निरन्तरता दिइनेछ र महानगरको ट्राफिक व्यवस्थापन सुदृढ पार्न हामी सदैव तयार छौं।”
साथै, अभियानको क्रममा अन्य सवारी चालकहरूलाई पनि सचेत गराइएको र तोकिएको स्थानमा मात्र पार्क गर्न निर्देशन दिइएको थियो।
महानगरपालिकाले आगामी दिनहरूमा स्मार्ट पार्किङ प्रणाली र CCTV जडानजस्ता दीर्घकालीन उपायहरू अपनाउने तयारी समेत गरिरहेको जनाएको छ।









