अभिलाष गुप्ता
बिरगंज २५ बैशाख
वीरगंज, पर्सा — “स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जानु परे सही सूचना र सीपसहित मात्र जाऔं” भन्ने नाराका साथ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वीरगंजमा १ दिने पत्रकार अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालय, र वीरगंज महानगरपालिकाको संयोजनमा आयोजित कार्यक्रम वीरगंजस्थित गेटवे होटलमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्णले गरेका थिए। कार्यक्रममा संयोजक रामा शंकर कुश्वाहाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य, महत्व र आगामी गतिविधिबारे जानकारी गराए।
विशेष अतिथिको रुपमा वीरगंज महानगरपालिकाका राज कृष्ण ताम्राकारको उपस्थिति रहेको कार्यक्रमको उपस्थितिमा शुशिला भण्डारी तथा विभिन्न सञ्चारमाध्यमबाट आएका पत्रकारहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्ने समस्याहरू उजागर गर्दै, उनीहरूको न्याय प्राप्तिमा सञ्चारमाध्यमको भूमिका सशक्त बनाउनु रहेको छ। विशेषगरी, पिडित श्रमिक तथा उनका परिवारजनका मुद्दालाई उठान गर्न र क्षतिपूर्ति प्राप्तिमा सहयोग पुर्याउन पत्रकारिता क्षेत्रबाट बहस र पैरवीको अपेक्षा गरिएको छ।
कार्यक्रममा वैदेशिक रोजगारीसँग सम्बन्धित सवाललाई केन्द्रमा राखेर पत्रकारहरूले जिम्मेवार ढंगले लेख लेख्न र समाजमा जनचेतना फैलाउन आह्वान गरिएको थियो। सरोकारवालाहरूलाई उत्तरदायी बनाउने र वैदेशिक रोजगारी क्षेत्रको नियमनमा सहयोग पुर्याउने विषयमा पत्रकारिता जगतलाई चौथो अंगको भूमिकामा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको थियो।
सामी कार्यक्रम लागू भएका स्थानीय तहहरू (पर्सा जिल्ला, चौथो चरण – पहिलो वर्ष):
वीरगंज महानगरपालिका,पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका,ठोरी गाउँपालिका,पोखरिया नगरपालिका,जिराभवानी गाउँपालिका छन। सञ्चारमाध्यमसँगको सहकार्यमा, सुरक्षित आप्रवासनको सन्देशलाई समुदायमा पु-याउने र श्रमिकहरूको हित सुनिश्चित गर्ने यो प्रयासलाई उदाहरणीय पहलका रूपमा हेरिएको छ।



















