२०८२ फाल्गुन ३० गते शनिबार

विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाद्वारा स्वास्थ्य शिविर तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख २५ बिरगंज

विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाको आयोजनामा एक दिवसीय स्वास्थ्य शिविर तथा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आतिथ्य वडा नं ९ का वडाध्यक्ष श्री जवाहर प्रसाद गुप्ताले गर्नु भएको थियो। उहाँले रेडक्रसको मानवसेवा तथा समाजप्रति समर्पणको भावना सराहनीय रहेको बताउँदै यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाका सभापति श्री शतिश सिंह राजपुतले गर्नुभएको थियो। उहाँले रेडक्रसले संकटका बेलामा दिने सहयोग तथा नियमित रूपमा सञ्चालन हुने स्वास्थ्य सेवाहरूको प्रभावकारीता बारेमा जानकारी दिनुभयो।

विशेष अतिथिका रूपमा नुरुल होदा, बिकाश रौनियार र राजन साहको उपस्थिति रहेको थियो। उनीहरूले पनि रेडक्रसको कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनहरूमा अझ बढी सहयोग र सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य शिविरमा विभिन्न रोगहरूको परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। यस शिविरमा ६० जना स्थानीय बासिन्दाहरूले निशुल्क स्वास्थ्य सेवा लिएका थिए। शिविरमा अनुभवी स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेका थिए।

कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गर्दै रेडक्रसका संस्थापक हेनरी डुनाँको योगदानलाई सम्झना गरिएको थियो।

रेडक्रस दिवसका अवसरमा आयोजना गरिएको यो कार्यक्रमले स्थानीयस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानवीय सेवाको सन्देश फैलाएको आयोजकको भनाइ छ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM