अभिलाष गुप्ता
बैशाख २५ बिरगंज
आज विश्व रेडक्रस दिवसको अवसरमा साउथ जोन जुनियर युवा रेडक्रस सर्कलले एक प्रेरणादायी सेवा अभियान संचालन गर्दै मानवता र सहानुभूतिको उच्च उदाहरण प्रस्तुत गरेको छ। विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा सर्वसाधारण पैदल यात्रुहरुलाई लक्षित गर्दै गर्मीको कठोर मौसममा चिसो सर्वत वितरण गरिएको थियो।
यो पहलले विशेषगरी विद्यार्थीहरूमाझ सामाजिक उत्तरदायित्व र सेवाको भावना विकास गर्ने उद्देश्य लिएको थियो। गर्मीबाट राहत दिने यो अभियानले न केवल तनलाई तर मनलाई पनि चिस्याउने अनुभूति दिलायो।

कार्यक्रमको सफलताको श्रेय शिक्षाशास्त्रका नायक तथा मार्गदर्शक श्री अर्जुन कुमार बण्ठालाई जान्छ, जसको सक्रिय नेतृत्वले सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित, प्रेरणादायी र प्रभावशाली बनायो। उहाँले विद्यार्थीसँग हातेमालो गर्दै प्रत्यक्ष रूपमा सेवामा संलग्न भइ नेतृत्वदायी क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सेवाको महत्व, सहानुभूति र सामाजिक एकताको अभ्यास गर्ने अवसर पाए। धेरै अभिभावक र सर्वसाधारणले यो पहलप्रति खुशी व्यक्त गर्दै यस्ता अभियानले नयाँ पुस्तालाई समाजप्रति उत्तरदायी बनाउने धारणा राखे।

साउथ जोन जुनियर युवा रेडक्रस सर्कलले देखाएको यो कार्य केवल एक दिनको कार्यक्रम नभएर सामाजिक सेवा र मानवीय मूल्यको निरन्तर अभ्यास हो भन्ने सन्देश सम्पूर्ण समाजमा फैलिएको छ।









