२०८२ पुष १ गते मंगलवार

चलचित्र पत्रकार संघ नेपाल पर्साको पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न

 

अभिलाष गुप्ता
वीरगञ्ज, २८ बैशाख

चलचित्र पत्रकार संघ नेपाल पर्साको प्रथम अधिवेशन आइतबार वीरगञ्जस्थित पब्लिक कलेज, पानीटंकीमा सम्पन्न भएको छ। ‘चलचित्र पत्रकारिताको मूल मर्म र व्यवसायिक पत्रकारिताका लागि सञ्चारकर्मको मूल नारा’ भन्ने मूल मन्त्रका साथ सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ।

कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष नीलिमा पौडेलले गर्नुभएको थियो भने अधिवेशनका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, अतिथिमा मधेश प्रदेश पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, नन्दु श्रीवास्तव, नवराज भण्डारी र ग्यान्दा एकेडेमीका प्रमुख राजेन्द्र प्रसाद कोइरालाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले चलचित्र पत्रकारिताको महत्व, यसको विकास र पेशागत मर्यादाबारे आ–आफ्ना धारणा राख्दै आगामी दिनमा अझ व्यवस्थित र मर्यादित पत्रकारिता अभ्यासका लागि आग्रह गरे। प्रमुख अतिथि डा. शाक्यले चलचित्र पत्रकारिता नेपालमा अझ नयाँ भए पनि यसले राष्ट्रिय सिनेउद्योगको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै अनुसन्धानमुखी र तथ्यपरक पत्रकारिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

बन्द सत्रमार्फत अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचित नयाँ कार्यसमितिमा सूर्यनारायण विक अध्यक्ष, आनन्द पटेल उपाध्यक्ष र रञ्जित यादव सचिवमा मनोनयन भएका छन्। नयाँ नेतृत्वले आगामी कार्यकालमा चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धि, सञ्जाल विस्तार र पेशागत हकहितका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

अधिवेशनमा चलचित्र पत्रकार, सञ्चारकर्मी, विद्वान् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष सूर्यनारायण विकले सम्पूर्ण सहभागी, अतिथि र आयोजकप्रति धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM