२०८२ माघ ११ गते आईतवार

बुद्ध जयन्तीको अवसरमा बिकन माध्यमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

 

बिरगंज, बैशाख २८
अभिलाष गुप्ता

बुद्ध जयन्तीको पावन अवसरमा बिकन माध्यमिक विद्यालय, बिरगंजले विविध सांस्कृतिक र शैक्षिक कार्यक्रमहरू आयोजना गर्दै शान्तिका दूत भगवान गौतम बुद्धको शिक्षालाई आत्मसात् गर्ने प्रयास गरेको छ। कक्षा ८, ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागितामा वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रदर्शनी, बौद्ध सन्देश प्रवाह गर्ने क्रियाकलाप तथा अन्य सिर्जनात्मक गतिविधिहरू सम्पन्न भएका छन्।

विद्यालय प्रांगणमा आयोजना गरिएको कार्यक्रम बिकन माध्यमिक विद्यालयका सञ्चालक तथा समाजसेवी प्रकाश उपाध्याय र समाजसेवी मुना कुमारी खनालको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक जय कुमार दुनुवारले गर्नुभएको थियो।

उक्त कार्यक्रममा शिक्षक मंगल भट्टराई, विद्यालयका अन्य शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले बुद्धका शिक्षामार्फत आजको सामाजिक जीवनमा आवश्यक पर्ने शान्ति, करुणा, सदाचार र आत्मअनुशासनका विषयमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए।

वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले “बुद्धको सन्देश र आजको समाज”, “शिक्षा र शान्तिको सम्बन्ध”, तथा “युवाहरूमा बौद्धिक जागरणको आवश्यकता” जस्ता विषयमा प्रभावशाली प्रस्तुति दिएका थिए। चित्रकलामा बुद्धको जीवन, शान्तिको संदेश र पर्यावरणीय सन्तुलन जस्ता विषय समेटिएको थियो, जसले विद्यार्थीहरूको सिर्जनात्मक क्षमताको उजागर गरेको देखिएको थियो।

कार्यक्रममा बोल्दै समाजसेवी प्रकाश उपाध्यायले बुद्धको दर्शनलाई बालबालिकादेखि युवासम्म पुर्‍याउनु अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सर्वांगीण विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै मुना कुमारी खनालले यस्ता शैक्षिक तथा नैतिक मूल्यमा आधारित गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

विद्यालय प्रशासनले आगामी दिनहरूमा अझ व्यापक सहभागिता र प्रभावशाली कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।बुद्ध जयन्तीको माध्यमबाट शिक्षामैत्री र मूल्य–आधारित समाज निर्माणमा विद्यालयको यो प्रयास प्रेरणादायी बनिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM