अभिलाष गुप्ता
बैशाख २८, वीरगञ्ज
पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी २० वर्षीया आलिया खातुनलाई मानव बेचबिखनको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले उनलाई भारतको रक्सौलस्थित एक होटेलमा नाबालिकालाई यौन शोषणमा लगाउने प्रयासको आरोपमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार खातुनले ‘नयाँ कपडा किनिदिन्छु, पैसा दिन्छु’ भन्ने प्रलोभन देखाएर नाबालिकाहरुलाई सीमा पार गराई यौन धन्दामा लगाउने प्रयास गर्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनले नेपालका बालबालिकालाई भारतको होटेलहरूमा लगेर यौन शोषणमा संलग्न गराउने गरेको तथ्य खुलेको प्रहरी नायब उपरीक्षक एवम् पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए।
घटनाको अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राऊ परेकी खातुनमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।









