२०८२ मंसिर २६ गते शुक्रबार

विरगञ्जको आदर्शनगर–६ नं. गेट सडकखण्डको सौन्दर्यीकरण सुरु, सांसद शर्माबाट शिलान्यास

 

अभिलाष गुप्ता
बैशाख २८, वीरगञ्ज

विरगञ्ज महानगरपालिका अन्तर्गत आदर्शनगरदेखि ६ नं. गेटसम्मको सडक खण्डको सौन्दर्यीकरण कार्य शनिबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। मधेश प्रदेशकी प्रदेशसभा सदस्य माननीय बिना देवी शर्मा (मारवाडी) को संसदीय विकास कोषबाट विनियोजित ५० लाख रुपैयाँको लागतमा सडकमा पेभर ढलान र दुवै छेउमा नाला निर्माण गरिनेछ।

शिलान्यास कार्यक्रमको प्रमुख अतिथि सांसद शर्मा रहनुभएको थियो। कार्यक्रम उपभोक्ता समितिको सक्रियतामा सम्पन्न भएको हो। उपभोक्ता समिति अध्यक्ष अशोक कुमार तिवारी, उपाध्यक्ष प्रेम कुमार चौरसिया, सचिव अर्जुन प्रसाद गुप्ता र कोषाध्यक्ष सशी रौनियारसहित स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सांसद शर्माले स्थानीय पूर्वाधारको विकासका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। “यो क्षेत्रका बासिन्दाको लामो समयदेखि उठ्दै आएको मागअनुसार सडकको सुधार र नालाको निर्माणले जनजीवन सहज हुने विश्वास लिएको छु,” उहाँले भन्नुभयो।

उपभोक्ता समिति अध्यक्ष तिवारीले यस परियोजना सबैको सहकार्यमा गुणस्तरीय रूपमा सम्पन्न हुने आशा व्यक्त गर्नुभयो। उहाँले प्राविधिक मापदण्ड अनुसार निर्माण कार्य सम्पन्न गर्न समिति पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो।स्थानीय बासिन्दाहरूले परियोजनाको सुरुवातप्रति खुसी व्यक्त गर्दै विकास निर्माणमा जनसहभागिता आवश्यक रहेको धारणा राखेका थिए।

सडक सौन्दर्यीकरण अन्तर्गत आकर्षक पेभर ढलान गरिनेछ भने दुवै तर्फ नाला निर्माण गरि वर्षायाममा पानी जम्ने समस्याको दीर्घकालीन समाधान गरिने जनाइएको छ। निर्माण कार्य छिट्टै सुरु भई तोकिएको समयमै सम्पन्न गरिने लक्ष्य लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM