२०८३ बैशाख ४ गते शुक्रबार

शरीरभित्र गाँजा लुकाएर तस्करी प्रयास: दुई भारतीय नागरिक मैत्री पुलबाट पक्राउ

 

अभिलाष गुप्ता
बिरगंज ३० बैशाख

नेपाल–भारत सिमानाका रूपमा रहेको रक्सौलको मैत्री पुल हुँदै शरीरभित्र गाँजा लुकाएर तस्करी गर्न खोजिरहेका दुई जना भारतीय नागरिकलाई भारतीय सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ।

गाँजा तस्करीको नयाँ शैली अपनाउँदै तस्करहरूले सुरक्षा एजेन्सीलाई झुक्याउने प्रयासस्वरूप गाँजा शरीरभित्र लुकाएर लैजाने रणनीति अपनाएका थिए। तर, एसएसबी जवानहरूको सतर्क निगरानीका कारण उनीहरूको योजना विफल भएको हो।

मैत्री पुलमा कडाइका साथ जाँच गरिरहेका एसएसबी जवानहरूले शंका लागेपछि दुई युवकको शरीरको गहिरो खानतलासी गर्दा गाँजा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिएर भारतीय प्रहरी प्रशासनको जिम्मा दिइएको छ।

पक्राउ परेका व्यक्तिहरूको नाम जवाहिर मोती चन्द राम (पश्चिमी चमारण, नौतन) र नगिना पटेल (नन्दन्पुर, बैरिया) रहेको भारतीय प्रहरीले पुष्टि गरेको छ। उनीहरूलाई हाल अनुसन्धानका लागि हिरासतमा राखिएको छ भने अवैध लागुऔषध तस्करीअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

भारतीय सुरक्षा बलका अनुसार पछिल्लो समय नेपाल–भारत सीमामा लागुऔषध तस्करीका शैलीहरू परिवर्तन हुँदै गएका छन्। शरीरभित्र गाँजा वा अन्य नशालु पदार्थ लुकाएर सीमा पार गर्ने प्रयासहरू बढेका छन्, जसका विरुद्धमा एसएसबीले निगरानी तथा चेकजाँच अझ कडाइका साथ जारी राख्ने जनाएको छ।

सीमामा पछिल्लो समय बढ्दो तस्करीका गतिविधिहरूले दुबै देशका सुरक्षा एजेन्सीहरूलाई थप सतर्क बनाएको छ। शरीरमा गाँजा लुकाएर गरिएको यो घटनाले तस्करीमा संलग्न समूहहरूको रणनीति कति जोखिमपूर्ण र योजनाबद्ध छ भन्ने संकेत दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM