२०८३ बैशाख ४ गते शुक्रबार

ठोरीमा काठ तस्करीको आशंका: शंकास्पद ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

 

अभिलाष गुप्ता
बैशाख ३० बिरगंज

छुटपूर्जीभन्दा बढी मात्रामा काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एक ट्रक नियन्त्रणमा लिएको छ। ठोरी गाउँपालिका क्षेत्रबाट कटान गरिएको भनिएको उक्त काठको विषयमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले विस्तृत छानबिन गर्ने तयारी गरेको छ।

स्रोतका अनुसार अजमुदिन मिया र नुरहसन मिया नामका काठ व्यवसायीले ठोरी गाउँपालिकाका विभिन्न स्थानबाट थोरै कटान पूर्जी बनाएर धेरै मात्रामा काठ कटानी गरेका थिए। सोही सूचनाको आधारमा सशस्त्र प्रहरीले विशेष सुराकीका आधारमा ट्रकलाई नियन्त्रणमा लिएको हो।

शिलबन्दी गरिएको उक्त ट्रक माडी, नारायणगढ हुँदै भैरहवा तर्फ जाँदै गरेको अवस्थामा ठोरीमै रोकेको हो। ट्रकमा खयर प्रजातिका काठका गोलिया नाप साइजविना र अनुमतिपत्रभन्दा बढी मात्रामा लोड गरिएको दाबी गरिएको छ। यद्यपि ट्रकमा कागजातहरू शिलबन्द अवस्थामा रहेकाले निकुञ्जका प्रतिनिधिहरूले परीक्षण गरी तथ्य खुलाउने बताएका छन्।

स्थानीय स्रोतहरूका अनुसार काठ तस्करीका यस्ता गतिविधिहरू निर्भीक रूपमा भइरहेका छन्, जसमा सरकारी संयन्त्रका कर्मचारीदेखि राजनीतिक तहसम्मको संलग्नता रहेको आशंका गरिएको छ। “तस्कर र माफियाको जालोमा राज्यका संरचनाहरू नतमस्तक छन्,” एक स्रोतले भन्यो।

काठ तस्करीको यो घटनाले कानूनी व्यवस्था र संरक्षण क्षेत्रको कार्यप्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ। यसबारे थप अनुसन्धान र कारबाही आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM