अभिलाष गुप्ता
बिरगंज ३१ बैशाख
एक महत्वपूर्ण घटनाक्रममा जिल्ला अदालत पर्साबाट थुनछेक बहसपछि रिहा भएका हिन्दुवादी अभियन्ता रवि सर्राफ र बिक्रम (बल्जित)को भव्य स्वागत गरिएको छ। स्वागत समारोहमा राष्ट्रिय समता पार्टी नेपालका बिरगंज महानगर कार्यसमिति संयोजक अमर सर्राफको अगुवाइमा हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरू समेत सहभागी थिए।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट रिहा भएलगत्तै समर्थकहरूको ठूलो भिडले जयश्रीरामका नारासहित योद्धाहरूलाई फूलमालाले स्वागत गर्यो। उपस्थित जनसमुदायले यो कदमलाई सत्य र राष्ट्रप्रेमको विजयका रूपमा व्याख्या गरेका छन्। अमर सर्राफले स्वागत कार्यक्रममा सम्बोधन गर्दै भने, “हिन्दू स्वाभिमानको रक्षा गर्ने योद्धाहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो। रवि सर्राफ र उनका साथीसँग अन्याय भएको थियो, तर न्यायले जितेको छ।”
हिन्दुवादी संघसंगठनका प्रतिनिधिहरूले पनि रिहा भएका अभियन्ताहरूको साहस, समर्पण र राष्ट्रहितमा लिइएको भूमिकाको खुलेर प्रशंसा गरे। स्थानीय बासिन्दाहरूले समेत रिहा भएका युवाहरूलाई समर्थन जनाउँदै राष्ट्रिय एकताको लागि संघर्ष जारी राख्न आग्रह गरेका छन्।
यो घटनाले न केवल धार्मिक र सांस्कृतिक चेतनालाई बल पुर्याएको छ, तर राजनीतिक दृष्टिले पनि हिन्दू राष्ट्रवाद र नागरिक अधिकारप्रतिको जनताको चासोलाई उजागर गरेको छ।



















