२०८३ बैशाख ४ गते शुक्रबार

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा बाराको प्रादेशिक अस्पताल, कलैयामा ब्लड बैंक भवनको उद्घाटन

 

 

अभिलाष गुप्ता
कलैया, ३१ बारा

 

बाराको स्वास्थ्य सेवा प्रणालीमा महत्वपूर्ण उपलब्धि स्वरूप प्रादेशिक अस्पताल, कलैयामा निर्माण गरिएको नव-निर्मित ब्लड बैंक भवनको आज एक भव्य समारोहबीच सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभयो।

कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्नु भएका उपराष्ट्रपति यादवले गमलामा पानी हालेर हरियालीको प्रतीकात्मक सन्देश दिएका साथै रिबन काटी नयाँ भवनको औपचारिक शुभारम्भ गर्नुभयो। उक्त उद्घाटन कार्यक्रम स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासलाई प्राथमिकता दिनु आजको आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो, “रक्त आपूर्ति जीवन र मृत्युको सिमानामा निर्णायक हुन सक्छ। यसकारण यस्तो ब्लड बैंकको स्थापना कलैया र वरपरका जिल्लावासीका लागि अत्यन्त उपयोगी र सराहनीय छ।”

उहाँले सरकारी तथा निजी क्षेत्रले समन्वय गरेर जनताको स्वास्थ्य सुनिश्चित गर्न निरन्तर प्रयास गर्नुपर्नेमा पनि जोड दिनुभयो।

उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्था, जनप्रतिनिधि, चिकित्सक, पत्रकार, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले ब्लड बैंक भवनको उद्घाटनसँगै अब अस्पतालमा रक्त अभावका कारण उपचार प्रभावित नहुने विश्वास व्यक्त गरे।

यस ब्लड बैंकमा अत्याधुनिक उपकरणसहित रक्त संकलन, परीक्षण, भण्डारण र वितरण प्रणाली संचालनमा ल्याउने योजना रहेको बताइएको छ। निकट भविष्यमा यो ब्लड बैंकले प्रदेश नं. २ का अन्य जिल्लाहरूमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।

कार्यक्रमको समापनमा उपराष्ट्रपतिले यस्तो महत्वपूर्ण कार्यमा संलग्न सबैलाई धन्यवाद दिँदै देशका अन्य स्थानहरूमा पनि यस्तै स्वास्थ्य पूर्वाधार विकास भइरहनुपर्ने आशा व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM