अभिलाष गुप्ता
वीरगंज, पर्सा
अत्यधिक गर्मीका कारण पठनपाठनमा कठिनाइ भईरहेको भन्दै वीरगंज महानगरपालिकाले विद्यालयको समय परिवर्तन गरेको छ। अबदेखि वीरगंज महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बिहान ६ बजेबाट शिक्षण सिकाइ कार्य सञ्चालन गर्नुपर्नेछ।
महानगरपालिकाको प्रमुख शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार, २०८२ साल जेठ १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नयाँ समयतालिका लागू हुनेछ। दिउँसोको समयको चर्को गर्मीले विद्यार्थी तथा शिक्षकहरूलाई स्वास्थ्य जोखिम हुने भएकाले यो निर्णय गरिएको जनाइएको छ।
महानगरपालिकाले सबै विद्यालयलाई तोकिएको समयभन्दा कम समय शिक्षण कार्य नगर्न समेत निर्देशन दिएको छ। यो निर्णयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा र पठनपाठनको निरन्तरतामा सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ।









