२०८२ फाल्गुन ५ गते मंगलवार

तीन महिना बित्दा पनि मर्मत नटुंगिएको वीरगञ्जको घण्टाघर, नागरिक असन्तुष्ट

अभिलाष गुप्ता
वीरगञ्ज,३१ बैशाख

वीरगञ्जको पहिचानको प्रतीक मानिने ऐतिहासिक घण्टाघरको मर्मतसम्भार कार्य अलपत्र अवस्थामा पुगेको छ। फागुन ७ गते बाल्कोनीको भाग भत्किएपछि सुरक्षाको लागि घुम्टोले ढाकिएको घण्टाघरको मर्मत अझै पूरा हुन सकेको छैन। अब तीन महिना पुग्न लाग्दा पनि मर्मत कार्य नसकिएकोप्रति वीरगञ्जवासीले गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानिय बासिन्दा र पर्यटकहरू घण्टाघरको ढाकिएको स्वरूप देखेर निराश छन्। विदेशी तथा स्वदेशी पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र मानिने यो स्मारक लामो समयसम्म घुम्टोभित्र रहँदा वीरगञ्जको प्रतिष्ठामा समेत आँच पुगेको जनाइएको छ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पुरानो संरचना भएका कारण मर्मतमा समय लागेको जानकारी दिनुभयो। “हामी व्यवसायीलाई चाँडो काम सक्न ताकेता गरिरहेका छौं,” उहाँले भन्नुभयो।

पूर्वाधार महाशाखाका इञ्जिनियर गौरव झाले अकासे पानीको निकास नहुँदा बाल्कोनीमा क्षति पुगेको बताए। “क्र्याक आएको छ, इँटा खस्न थालेको छ,” उनले भने, “हामी बाल्कोनीको छानालाई फोरेर मर्मत कार्य अघि बढाइरहेका छौँ।”

उनका अनुसार घण्टाघरको समस्या पहिचान गर्न र लागत इष्टिमेट तयार गर्नैमा पनि समय लागेको हो। स्काफोल्डिङ तयार पार्न र उचाइमा काम गर्न प्राविधिक जनशक्ति व्यवस्थापनमा कठिनाइ आएको उनले बताए।

हाल ५० देखि ६० फिट उचाइमा मर्मत कार्य भइरहेको जानकारी दिँदै इञ्जिनियर झाले अझै डेढ महिनाभन्दा बढी समय लाग्ने बताए। “तल्लो संरचनामा क्षति नहोस् भनेर पनि सावधानी अपनाउँदा मर्मत कार्य ढिलो भएको देखिएको हो,” उनले भने।

वीरगञ्जवासी र सरोकारवालाहरूले ऐतिहासिक सम्पदाको शीघ्र मर्मत र संरक्षणको माग गर्दै महानगरसँग थप जवाफदेहिताको अपेक्षा गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM