२०८२ पुष १ गते मंगलवार

वीरगञ्जमा ‘एमपीएल २०२५’ क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु, डे-नाइट खेलले नयाँ उत्साह थप्ने

 

अभिलाष गुप्ता
वीरगञ्ज, ०२ जेठ

स्व. सुशील कुमार खेतानको स्मृतिमा आयोजना गरिने माडवारी प्रिमियम लिग (एमपीएल) २०२५ क्रिकेट प्रतियोगिता यही शनिबारदेखि वीरगञ्जको आदर्शनगर रंगशालामा सुरु हुने भएको छ। प्रतियोगिता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा सम्पन्न हुँदैछ।

सञ्चालक समितिका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। सहभागी १० टोलीका कप्तानहरूले आज वीरगञ्जका विभिन्न स्थानहरूमा सिलसहित प्रचारात्मक गतिविधिमा सहभागी भई प्रतियोगिताको प्रचार–प्रसारलाई तिव्र बनाएका छन्। उक्त प्रचारमार्फत खेलप्रेमीहरूमाझ उत्साह थपिएको आयोजकको दाबी छ।

शनिबार दिउँसो ४ बजे उद्घाटन खेलसँगै प्रतियोगिता औपचारिक रूपमा सुरु हुनेछ। यसपटक एमपीएल प्रतियोगिता डे-नाइट खेल प्रणालीमा सञ्चालन गरिनेछ, जसले विशेषगरी युवापुस्तालाई नयाँ अनुभव र रोमाञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता संयोजक प्रकाश खेतानले जानकारी गराउँदै एमपीएलको मुख्य उद्देश्य युवा खेलाडीहरूमा रहेको लुकेको प्रतिभा उजागर गर्नु, सामाजिक एकता तथा अनुशासनको भावना सुदृढ गर्नु र दिवंगत सुशील कुमार खेतानप्रति श्रद्धाञ्जली अर्पण गर्नु रहेको बताए।

उनका अनुसार सम्पूर्ण खेलहरू प्रतिस्पर्धात्मक, मर्यादित र उच्चस्तरीय हुनेछन्। अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्ने टोली, खेलाडी तथा विशेष योगदान दिने प्रतिभाहरूलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ।

एमपीएल २०२५ मा वीरगञ्जका विभिन्न स्थानहरूबाट चयन गरिएका टोलीहरूले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा व्यावसायिक व्यवस्थापन, मैदान सजावट, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण पक्षमा विशेष ध्यान दिइएको आयोजकले जनाएको छ।

स्थानीय स्तरमै आयोजित यस्ता प्रतियोगिताहरूले युवापुस्तालाई स्वस्थ जीवनशैली, अनुशासन र खेलप्रतिको रुचि विकासमा प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, सामुदायिक समृद्धिको सन्देश दिने र खेलकुदलाई सामाजिक परिवर्तनको माध्यम बनाउने प्रयासस्वरूप प्रतियोगिता आयोजना गरिएको बताइएको छ।

एमपीएल २०२५ को सफल आयोजनाले वीरगञ्जलाई क्रिकेट हबको रूपमा स्थापित गर्ने दिशामा सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM