२०८२ माघ ११ गते आईतवार

जीवन ज्योती स्कुलमा ग्रेडिङ्ग दीक्षान्त समारोह सम्पन्न

 

अभिलाष गुप्ता
वीरगञ्ज, ०३ बैशाख

पर्सा जिल्लाको प्रतिष्ठित शैक्षिक संस्था जीवन ज्योती स्कुलमा आयोजित ग्रेडिङ्ग दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गनेशमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

समारोहमा निर्णायक मण्डलको रूपमा राजेन्द्र साही, बिक्रान्त डगोल, मजिल हवारी तथा विद्यालयकी तेक्वान्दो प्रशिक्षक (कोच) रेयाना खातुनको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालयका निर्देशक शिव गुप्ताको अध्यक्षतामा सञ्चालन गरिएको हो।

समारोहमा विद्यालयका ४० जना छात्रछात्राहरूले तेक्वान्दोमा आफ्नो दक्षता प्रदर्शन गरेका थिए। विभिन्न तहका विद्यार्थीहरूले अनुशासित ढंगमा खेल प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए। विशेषगरी स-साना बालबालिकाहरूको लचकता, आत्मविश्वास र खेल भावना देखेर उपस्थित अभिभावक, शिक्षक र अतिथिहरू निकै प्रभावित देखिन्थे।

प्रमुख अतिथि गनेशमान श्रेष्ठले कार्यक्रममा मन्तव्य राख्दै तेक्वान्दो जस्तो आत्मरक्षा तथा अनुशासनमा आधारित खेल विद्यालय शिक्षाको एउटा महत्वपूर्ण हिस्सा बन्नु आवश्यक रहेको बताए। उनले विद्यालय स्तरबाटै यस्ता क्रियाकलापको प्रोत्साहन गर्नु सकारात्मक पहल भएको उल्लेख गर्दै जीवन ज्योती स्कुलको प्रयासको सराहना गरे।

उक्त समारोहमा शिक्षक, अभिभावक तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले विभिन्न तेक्वान्दो तालिम तथा प्रर्दशनहरू गरिएको थियो।

विद्यालय व्यवस्थापनले आगामी दिनहरूमा तेक्वान्दो मात्र नभई अन्य खेल तथा सिर्जनात्मक क्रियाकलापमा समेत ध्यान दिने बताएको छ। विद्यालयका निर्देशक शिव गुप्ताले अभिभावकहरूको विश्वास र छात्रछात्राहरूको लगनशीलतालाई संस्थाको सफलताको आधार भएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM