२०८२ पुष १ गते मंगलवार

दन्त स्वास्थ्यप्रति सचेतना फैलाउन बिरगञ्ज जेसीजद्वारा निःशुल्क शिविर सम्पन्न

अभिलाष गुप्ता
वीरगंज,०३ जेष्ठ

समाजसेवा र जनस्वास्थ्य प्रवर्द्धनमा क्रियाशील संस्था बिरगञ्ज जेसीजले शनिवार वीरगंजको अमरचोकस्थित समाज सेवा समितिको भवनमा निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ। समुदायमा मौखिक स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यसहित आयोजित उक्त शिविरमा ८० जनाले सेवा लिएका छन्।

शिविरमा अनुभवी तथा प्रसिद्ध दन्त चिकित्सक डा. मनोज उपाध्याय र सुश्री प्रियांशा पौडेलले सेवा प्रदान गरेका थिए। उनीहरूले सेवा लिनेहरूलाई दन्त परीक्षण, उपचार सल्लाह, सरसफाइका उपाय तथा नियमित स्वास्थ्य परीक्षणका बारेमा जानकारी दिएका थिए।

कार्यक्रम बिरगञ्ज जेसीजका अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो भने वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

विशिष्ट अतिथिका रूपमा वडा सदस्य मनोज साह, बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं, समाजसेवी सन्तोष खनाल, सेराज अन्सारी तथा बिरगञ्ज जेसीजका पदाधिकारीहरू सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सरोज चौरसियाले भने, “स्वस्थ जीवनको आधार स्वस्थ दाँत र मुख पनि हो। हाम्रो उद्देश्य जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउनु हो, जसअनुरूप हामीले सर्वसाधारणका लागि निःशुल्क सेवा उपलब्ध गराएका हौं।” उनले यस्ता शिविरले समयमै रोगको पहिचान र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रमुख अतिथि प्रदीप चौरसियाले बिरगञ्ज जेसीजद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखाइएको सक्रियता सराहनीय रहेको बताए। “यस्ता कार्यक्रमहरूले समुदायलाई सशक्त बनाउने र नागरिक स्वास्थ्य सचेतना बढाउने कार्यमा प्रेरणा प्रदान गर्छन्,” उनले उल्लेख गरे।

शिविरमा सहभागी लाभग्राहीहरूले विशेषज्ञ सेवा सहजै प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

बिरगञ्ज जेसीजले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM