२०८२ फाल्गुन ५ गते मंगलवार

लायन्स क्लब सिमरा जागरणद्वारा खाद्यान्न वितरण तथा मानव सेवा आश्रममा पौष्टिक आहार प्रदान

 

अभिलाष गुप्ता
सिमरा ०३ बारा

समाजसेवा र मानवीय सहयोगमा समर्पित संस्था लायन्स क्लब सिमरा जागरणले दानवीर प्रभु शमशेर ज.ब.रा. को पुण्यतिथि विशेष अवसरमा एक उल्लेखनीय मानवसेवी कार्य गर्दै वडा नं. ४ का ५० विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ।

क्लबद्वारा आयोजित कार्यक्रममा लगभग २०० जना लाभग्राहीका लागि चामल, दाल, तेल, नून, मसूरो, मसला लगायत दैनिक आवश्यकता पर्ने खाद्यान्न सामग्री वितरण गरिएको हो। वितरण गरिएका सामग्रीहरूको कूल लागत करिब ७० हजार रुपैयाँ रहेको क्लबले जानकारी दिएको छ।

कार्यक्रम लायन्स क्लब सिमरा जागरणका अध्यक्ष युवराज पौड्यालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नव निर्वाचित अध्यक्ष विनोद सापकोटा, उपाध्यक्ष राज दास श्रेष्ठ, सचिव अर्जुन ढकाल, अर्जित खतिवडा, गुठी परिवार, स्थानीय विपन्न महिला–पुरुष, समाजसेवी, तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष पौड्यालले कार्यक्रममा बोल्दै, “दानवीर प्रभु शमशेरले देखाउनुभएको मानवसेवा र परोपकारको मार्गलाई पछ्याउँदै हामीले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयास गरेका छौं,” भन्दै यस्ता कार्यले समाजमा सहयोग र संवेदनशीलता फैलाउने विश्वास व्यक्त गरे।

पुण्यतिथिको यही अवसरमा बिरगंजस्थित मानव सेवा आश्रममा आश्रित ६० जना लक्ष्मीनारायणहरूलाई खीर, पुरी, तरकारीजस्ता पौष्टिक परिकारहरू प्रदान गरिएको क्लबले जनाएको छ। आश्रममा पुगेर खाना खुवाउने कार्य स्वयं क्लबका पदाधिकारीहरूद्वारा गरिँदा वातावरण निकै आत्मीय र भावनात्मक बनेको थियो।

नव निर्वाचित अध्यक्ष सापकोटाले आगामी कार्यकालमा यस्ता समाजसेवी कार्यक्रमहरूलाई अझ विस्तार गर्दै युवालाई सामाजिक सेवातर्फ आकर्षित गर्ने लक्ष्य राखिएको जानकारी दिए।

कार्यक्रमले प्रभु शमशेर ज.ब.रा.को स्मृतिलाई सम्मानपूर्वक सम्झनाका साथै सेवा र सहकार्यको भावनालाई जनमानसमा पुनर्जीवित गराएको छ।
सोको जानकारी लायन्स अन्तरराष्ट्रीयका आजीवन सदस्य राधेश्याम खेतानले गराउनु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM