अभिलाष गुप्ता
वीरगंज,०३ जेष्ठ
वीरगंज महानगरपालिका वडा नं. ११ स्थित श्रीपुरमा अवस्थित बीरगंज कलेजमा अध्ययनरत स्नातक तह (बीबीएस) चौथो वर्षका विद्यार्थीहरूको बिदाई कार्यक्रम एक विशेष समारोहका साथ सम्पन्न भएको छ।
बिदाई समारोह बीरगंज कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीको अध्यक्षता र बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम वीरगंजस्थित मधुशाला फेमिली रेस्टुरेन्टमा आयोजना गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले स्नातक तहको अध्ययन पूरा गरिसकेपछि विद्यार्थीहरूको जीवनमा नयाँ अवसर र चुनौतीको ढोका खुलेको बताउँदै उच्च शिक्षा प्राप्त गर्दै जिम्मेवार नागरिकको रूपमा अगाडि बढ्न आग्रह गरे। “तपाईंहरू अब आफ्नो मार्ग आफैंले तय गर्नुहुन्छ। अभिभावक र कलेजको अपेक्षालाई पूरा गर्ने दिशामा समर्पित भएर अघि बढ्न जरुरी छ,” गौतमले उल्लेख गरे।
अध्यक्ष डा. चौधरीले कलेजले शिक्षण मात्र होइन, विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा समेत योगदान पुर्याउँदै आएको बताए। उनले भनिन्, “आजको यो बिदाई केवल औपचारिक कार्यक्रम होइन, तपाईंहरूको संघर्षको अर्को चरणमा प्रवेश हो। हामी तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं।”
कार्यक्रममा सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, बीबीएस कोअर्डिनेटर दिपेशलाल कर्ण, परीक्षा कोअर्डिनेटर डिके जैसवाल, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय, समाजसेवी फजुल अहमद, प्लस टू कोअर्डिनेटर राजेश्वर चौधरी, शिक्षकहरू सुनिल चौधरी, सुनिल यादव र प्रचेत कर्ण लगायतले बिदाइ हुँदै गरेका विद्यार्थीहरूलाई शुभकामना तथा बधाई व्यक्त गरे।
बिदाई कार्यक्रममा कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले स्वागत मन्तव्य राख्दै कलेजको शैक्षिक यात्रा र विद्यार्थीहरूको योगदानको स्मरण गरे।









