नरकटियागञ्ज
साउन १६
श्रावणी मेला २०२६ को अवसरमा बाबा बैद्यनाथ धाम, देवघर जाने श्रद्धालुहरूको सुविधाका लागि पूर्व मध्य रेलवेद्वारा ०५५४७/०५५४८ नरकटियागञ्ज–रक्सौल–नरकटियागञ्ज द्विसाप्ताहिक श्रावणी मेला विशेष रेल सेवा सञ्चालनमा ल्याइएको छ। समस्तीपुर रेल मण्डलले जारी गरेको आधिकारिक सूचनाअनुसार उक्त विशेष रेल सेवा अगस्ट १ देखि अगस्ट ३१, २०२६ सम्म सञ्चालन हुनेछ।
रेलवेका अनुसार ०५५४७ नरकटियागञ्ज–रक्सौल विशेष रेल प्रत्येक बिहीबार र शनिबार सञ्चालन हुनेछ भने ०५५४८ रक्सौल–नरकटियञ्ज विशेष रेल प्रत्येक शनिबार र सोमबार सञ्चालन गरिनेछ। यस अवधिमा नरकटियागञ्जबाट ९ फेरा तथा रक्सौलबाट १० फेरा रेल सेवा सञ्चालन हुने जनाइएको छ।
यो विशेष सेवा ०५५४५/०५५४६ रक्सौल–देवघर श्रावणी मेला विशेष रेल को र्याक प्रयोग गरी सञ्चालन गरिनेछ। रेलमा १८ वटा डिब्बा रहनेछन् र यसको प्राथमिक मर्मतसम्भार रक्सौलमै गरिनेछ। सम्पूर्ण सेवा विद्युतीय इन्जिनमार्फत सञ्चालन हुने भएकाले नरकटियागञ्जदेखि देवघरसम्म यात्रुले सहज र अवरोधरहित यात्रा गर्न सक्नेछन्।
समय तालिका
०५५४७ नरकटियागञ्ज–रक्सौल विशेष रेल बिहीबार र शनिबार राति ११ः१५ बजे नरकटियागञ्जबाट प्रस्थान गरी शुक्रबार र आइतबार राति १२ः२० बजे रक्सौल पुग्नेछ।
त्यसपछि यही र्याक ०५५४५ रक्सौल–देवघर श्रावणी मेला विशेष रेल का रूपमा राति १२ः३० बजे रक्सौलबाट प्रस्थान गरी साँझ ५ः०५ बजे देवघर पुग्नेछ। उक्त रेल शुक्रबार, आइतबार र मंगलबार सञ्चालन हुनेछ।
फर्किने क्रममा ०५५४६ देवघर–रक्सौल श्रावणी मेला विशेष रेल साँझ ६ः०५ बजे देवघरबाट छुटेर भोलिपल्ट बिहान ११ः४० बजे रक्सौल आइपुग्नेछ। त्यसपछि यही र्याक ०५५४८ रक्सौल–नरकटियागञ्ज विशेष रेल का रूपमा बिहान ११ः५० बजे रक्सौलबाट प्रस्थान गरी दिउँसो १ः१५ बजे नरकटियागञ्ज पुग्नेछ।
प्रमुख स्टेसनहरूमा ठहराव
उक्त रेल रक्सौल, सीतामढी, मुजफ्फरपुर, समस्तीपुर, भागलपुर, सुल्तानगञ्ज लगायत मार्गका निर्धारित प्रमुख स्टेसनहरूमा रोकिनेछ। यसबाट साना तथा ठूला दुवै क्षेत्रका यात्रुले लाभ लिन सक्नेछन्।
रेलवे अधिकारीहरूका अनुसार यस विशेष सेवाले बाबा बैद्यनाथ धाम जाने श्रद्धालुहरूलाई सुरक्षित, सहज र प्रत्यक्ष रेल यात्रा उपलब्ध गराउनेछ। साथै नरकटियागञ्ज–रक्सौल रेलखण्डका दैनिक यात्रुहरूले समेत अतिरिक्त रेल सेवाको सुविधा प्राप्त गर्नेछन्। चम्पारण क्षेत्रका यात्रुहरूले रेलवेको यस निर्णयलाई लामो समयदेखिको माग पूरा भएको भन्दै स्वागत गरेका छन्।
























