परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा समाजसेवी दीपेश पटेलले स्थानीय सरकारको बेवास्ताबीच आफ्नै पहल र व्यक्तिगत खर्चमा जीर्ण सडक मर्मत गराएका छन्। लामो समयदेखि खाल्डाखुल्डी र धुलाम्मे अवस्थामा रहेको सडक मर्मत भएपछि स्थानीयवासीले राहत महसुस गर्दै उनको पहलको खुलेर प्रशंसा गरेका छन्।
गण्डकको मैनचोक हुँदै कलैया जोड्ने सडकखण्ड बिग्रिएर सवारी आवागमनमा कठिनाइ हुँदै आएको थियो। सडकको दयनीय अवस्थाका कारण मोटरसाइकल, अटो रिक्सा, ट्र्याक्टर, ट्रक तथा साइकल चालकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य थिए। स्थानीयका अनुसार वर्षौंदेखि सडक मर्मत नहुँदा दुर्घटनाको जोखिमसमेत बढेको थियो।
स्थानीयवासीले सडक मर्मतका लागि वडा कार्यालयदेखि सम्बन्धित स्थानीय तहसम्म पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै पहल नभएको बताएका छन्। अन्ततः स्थानीय युवा दीपेश पटेलले नागरिकको समस्या महसुस गर्दै आफ्नै पहलमा जेसीबी र ग्रेडर प्रयोग गरी सडक मर्मत गराएका हुन्।
मर्मत कार्यका क्रममा पटेल स्वयं स्थलमै उपस्थित भएर कामको अनुगमन गरेका थिए भने उनका सहयोगीहरूले पनि श्रमदान र आवश्यक सहयोग गरेका थिए।
“समस्या देखेर पनि चुप लागेर बस्नुभन्दा आफ्नो क्षमताले सक्ने काम गर्नुपर्छ भन्ने सोचले सडक मर्मत गरेको हुँ,” पटेलले भने। उनले आगामी दिनमा पनि सामाजिक हितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सडक मर्मत भएपछि स्थानीयवासीले सहज आवागमनको वातावरण बनेको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखि बेवास्तामा परेको समस्याको समाधान व्यक्तिगत पहलबाट भएको उल्लेख गर्दै दीपेश पटेलको सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका छन्।
यद्यपि, स्थानीय सरकारको जिम्मेवारीभित्र पर्ने सडक मर्मतसमेत व्यक्तिगत पहलबाट गर्नुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै स्थानीयले सम्बन्धित निकायको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
























