२०८३ आश्विन ५ गते सोमबार

क्वेस्ट फर्मास्यूटिकल्सको रजत जयन्ती भव्य रूपमा सम्पन्न

 

नेपालको अग्रणी औषधि उत्पादक कम्पनी क्वेस्ट फर्मास्यूटिकल्स प्रा.लि. ले स्थापनाको २५औँ वर्ष अर्थात् रजत जयन्ती वीरगञ्जस्थित होटल भिसुवामा विशेष समारोह आयोजना गरी भव्य रूपमा मनाएको छ।

सांसद रहबर अन्सारीको प्रमुख आतिथ्य तथा कम्पनीका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका निर्देशक पृथ्वीराज राजभण्डारी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायत उद्योगी, व्यवसायी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

सन् १९९९ मा स्थापना भई सन् २००१ देखि औपचारिक उत्पादन सुरु गरेको क्वेस्ट फर्मास्यूटिकल्सले गुणस्तरीय तथा सुरक्षित औषधि उत्पादन गर्दै आएको छ। कम्पनीमा हाल ६०० भन्दा बढी कर्मचारी कार्यरत छन् भने १०० भन्दा बढी ब्रान्डेड जेनेरिक औषधि उत्पादन हुँदै आएको जनाइएको छ।

रजत जयन्तीका अवसरमा कम्पनीले कर्मचारीहरूको योगदानको कदर गर्दै ‘टोकन अफ लभ’ वितरण गर्नुका साथै महिला तथा पुरुष कर्मचारीबीच विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गरेको थियो।

यसैगरी सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा छातापिपरास्थित कारखाना परिसरमा आयोजित रक्तदान कार्यक्रममा १०७ पिन्ट रगत संकलन भएको कम्पनीले जनाएको छ।

समारोहमा कम्पनीको २५ वर्षे यात्रामा साथ र सहयोग गर्ने ग्राहक, स्वास्थ्यकर्मी, व्यावसायिक साझेदार तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय गुणस्तरलाई प्राथमिकता दिँदै स्वास्थ्य क्षेत्रमा थप योगदान गर्ने प्रतिबद्धता जनाइएको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM