२०८३ कार्तिक ७ गते शुक्रबार

जीवन ज्योति माध्यमिक विद्यालयद्वारा १५ क्रिकेट खेलाडीलाई खेलकुद सामग्री र पोसाक वितरण

 

वीरगञ्जस्थित जीवन ज्योति माध्यमिक विद्यालयले विद्यार्थीहरूमा क्रिकेटप्रतिको आकर्षण बढाउने तथा उनीहरूलाई खेलकुद क्षेत्रमा अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले १५ जना क्रिकेट खेलाडीलाई खेलकुद सामग्री तथा क्रिकेट पोसाक वितरण गरेको छ।

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा खेलाडीहरूलाई क्रिकेट खेलका लागि आवश्यक सामग्री तथा पोसाक प्रदान गरिएको हो।

विद्यालयका प्रधानाध्यापक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा क्रिकेट क्षेत्रसँग आबद्ध व्यक्तित्व, विद्यालयका पदाधिकारी, शिक्षक, प्रशिक्षक, पत्रकार तथा खेलाडीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले क्रिकेट अहिले खेलकुदमा मात्र सीमित नरही करियर निर्माण गर्ने महत्त्वपूर्ण माध्यमसमेत बनिसकेको बताए। उनले खेलाडीहरूलाई क्रिकेटप्रति गम्भीर, अनुशासित र प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै निरन्तर अभ्यास, मेहनत र लगनशीलताले सफलताको बाटोमा अघि बढ्न सहयोग पुग्ने बताए।

सिंहले भगवान् गौतम बुद्ध, सगरमाथा र क्रिकेटको लोकप्रियताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न योगदान पुर्‍याइरहेको उल्लेख गरे। नेपाली दर्शकमा क्रिकेटप्रतिको बढ्दो आकर्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीले देखाएको प्रदर्शनले यस क्षेत्रको सम्भावना थप उजागर गरेको उनको भनाइ थियो।

उनले जिल्ला स्तरबाट खेल यात्रा सुरु गरेका खेलाडीले उत्कृष्ट प्रदर्शन, अनुशासन र निरन्तर मेहनतका आधारमा प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्राप्त गर्न सक्ने बताए। क्रिकेटमा आफ्नो क्षमता विकास गर्न सके खेलाडीहरूले भविष्य निर्माण गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बन्नसमेत सक्ने उनले उल्लेख गरे। त्यसका लागि विद्यालय तहदेखि नै नियमित प्रशिक्षण, आवश्यक खेल सामग्री र उपयुक्त वातावरण उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको उनले बताए।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले खेलाडीहरूलाई अनुशासनमा रहेर खेल्न तथा अग्रज प्रशिक्षकहरूको सुझाव र निर्देशनलाई ध्यानपूर्वक पालना गर्न आग्रह गरे। खेल क्षेत्रमा सफलता हासिल गर्न प्रतिभा मात्र पर्याप्त नहुने भन्दै उनले निरन्तर अभ्यास, मेहनत, धैर्य र अनुशासन पनि उत्तिकै आवश्यक रहेको बताए।

विद्यालयले खेलाडीहरूलाई आवश्यक खेलकुद सामग्री तथा पोसाक उपलब्ध गराएपछि उनीहरूको खेल प्रदर्शनमा थप सुधार आउने विश्वास व्यक्त गर्दै प्रधानाध्यापक गुप्ताले आगामी दिनमा विद्यालयका क्रिकेट खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरे। खेलाडीहरूको प्रतिभा पहिचान तथा क्षमता विकासका लागि विद्यालयले आगामी दिनमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

कार्यक्रममा क्रिकेटको केन्द्रीय छनोट समितिका सदस्य मुर्तुजा हावरी, राष्ट्रिय अम्पायर सतीश सिंह राजपूत, विद्यालयका निर्देशक मीनाक्षी गुप्ता, व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेकी कामाक्षी गुप्ता, शिक्षक लालबाबु यादव, क्रिकेटका मुख्य प्रशिक्षक प्रदीप तिवारी तथा कप्तान सागर यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उज्ज्वल घिमिरेले गरेका थिए।

विद्यालयले खेलाडीहरूलाई खेलकुद सामग्री तथा पोसाक वितरण गरेपछि विद्यार्थीहरूमा क्रिकेटप्रतिको उत्साह थप बढ्ने विश्वास गरिएको छ। विद्यालय तहबाटै खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान र नियमित प्रशिक्षणलाई प्राथमिकता दिन सके भविष्यमा सक्षम क्रिकेट खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM