२०८३ श्रावण १० गते आईतवार

आकस्मिक रक्तदानबाट ब्रेन हेमरेज पीडित बिरामीलाई नयाँ जीवनको आशा, तेरापन्थ युवक परिषदवारा चार युनिट A+ रगत उपलब्ध

अभिलाष गुप्ता
वीरगञ्ज, ३१ असार

तेरापन्थ युवक परिषद्, वीरगञ्जले आकस्मिक रूपमा रगत आवश्यक परेका एक ब्रेन हेमरेज पीडित बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

परिषद्का अनुसार वीरगञ्ज न्युरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टरमा उपचाररत सत्यनारायण प्रसादलाई ब्रेन हेमरेज भएपछि तत्काल चार युनिट A+ रगत आवश्यक परेको जानकारी परिषद्को ‘ब्लड अन कल’ अभियानमा प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ अभियानका संयोजक आशीष चौरडियाले रक्तदाताहरूसँग समन्वय गरी आवश्यक रगतको व्यवस्था गरेका थिए। उनको सक्रिय पहलपछि रक्तदाता घनश्याम शर्मा, सतीश कुमार सहनी, अखिलेश कुमार शाह तथा तेरापन्थ युवक परिषद्का निवर्तमान अध्यक्ष लोकेश जम्मड तत्काल ब्लड बैंक पुगेर रक्तदान गरेका थिए।

चारै जनाको रक्तदानबाट बिरामीका लागि आवश्यक चार युनिट A+ रगत समयमै उपलब्ध गराइएको परिषद्ले जनाएको छ। समयमै रगत उपलब्ध भएपछि बिरामीको उपचार प्रक्रियामा महत्वपूर्ण सहयोग पुगेको अस्पताल स्रोतले जनाएको छ।

तेरापन्थ युवक परिषद्ले रक्तदाताप्रति हार्दिक आभार व्यक्त गर्दै आपत्कालीन अवस्थामा गरिएको रक्तदानले एक बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ। साथै, परिषद्ले स्वस्थ व्यक्तिहरूलाई नियमित तथा आपत्कालीन रक्तदान अभियानमा सहभागी भई मानव सेवाको यस पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको छ।

परिषद्ले सञ्चालन गर्दै आएको ‘ब्लड अन कल’ अभियानमार्फत आकस्मिक रूपमा रगत आवश्यक परेका बिरामीलाई समयमै रक्तदाता उपलब्ध गराउने कार्य निरन्तर जारी रहेको जनाएको छ। उक्त अभियानले वीरगञ्ज तथा आसपासका क्षेत्रमा आवश्यक पर्दा तत्काल रगत उपलब्ध गराएर धेरै बिरामीको उपचारमा सहयोग पुर्‍याउँदै आएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM