अभिलाष गुप्ता
वीरगञ्ज, पर्सा

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र (श्रीपुर, मुर्ली, वीरगञ्ज-११) द्वारा आयोजित वन भोज कार्यक्रमको अवसरमा संस्थाका वरिष्ठ सल्लाहकार एवम् समाजसेवी डा. पुरुषोत्तम दुबे सम्मानित हुनुभएको छ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम सर्राफले डा. दुबेलाई उहाँको सामाजिक तथा सामुदायिक योगदानको उच्च कदर गर्दै प्रशंसा-पत्र हस्तान्तरण गरी सम्मान गर्नुभएको हो।
डा. दुबेले लामो समयदेखि संस्थामा आबद्ध रहेर विभिन्न सामाजिक एवम् जनचेतनामूलक अभियानहरू— जस्तै रक्तदान, निःशुल्क आँखा शिविर, सरसफाई कार्यक्रमका साथै घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला तथा बालबालिका विरुद्धका अपराध, मानव बेचबिखन, लागूऔषध दुर्व्यसन र सामाजिक अपराध विरुद्धका सचेतना कार्यक्रमहरूमा सक्रिय योगदान पुर्याउँदै आउनुभएको छ।
सम्मान प्रदान गर्दै अध्यक्ष राम सर्राफले समाज रूपान्तरण र चेतना अभिवृद्धिमा डा. दुबेको योगदान अतुलनीय रहेको बताउनुभयो। सम्मान ग्रहण गर्दै डा. दुबेले आगामी दिनमा पनि सामुदायिक सेवा र सामाजिक अभियानहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।























