साउन १९, वीरगन्ज। कलैया उपमहानगरपालिका–२ निवासी पूर्ण अपाङ्गता भएका हिरालाल राउत कुर्मीलाई निःशुल्क ह्वीलचेयर उपलब्ध गराइएको छ। ‘उपकार सेवा नेपाल’को पहल तथा Queen Jewels Pvt. Ltd. को आर्थिक सहयोगमा उक्त सहयोग प्रदान गरिएको हो।

लामो समयदेखि शारीरिक अवस्थाका कारण सामान्य हिँडडुल गर्नसमेत कठिनाइ भोग्दै आएका कुर्मीको अवस्थाबारे जानकारी पाएपछि उपकार सेवा नेपालले आवश्यक समन्वय गर्दै उहाँलाई घरबाट वीरगञ्जसम्म ल्याउने व्यवस्था गरेको थियो। त्यसपछि संस्थाले औपचारिक रूपमा ह्वीलचेयर हस्तान्तरण गरी पुनः सुरक्षित रूपमा घरसम्म पुर्याएको जनाएको छ।
ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीको नेतृत्व रहेको थियो। कार्यक्रममा समाजसेवी अमर सर्राफ, युवा सचितानन्द मिश्रा, सञ्चारकर्मी प्रहलाद चौरासिया लगायत सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सहयोग कार्यक्रममा बोल्दै सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको जीवनलाई सहज बनाउन यस्ता सेवामूलक अभियान आवश्यक रहेको बताए। समाजका विभिन्न क्षेत्रको सहकार्यबाट यस्ता मानवीय पहललाई निरन्तरता दिनुपर्ने उनीहरूको धारणा थियो।
ह्वीलचेयर प्राप्त गरेपछि हिरालाल राउत कुर्मीको आवतजावत तथा दैनिक कार्यसम्पादन सहज हुने विश्वास व्यक्त गरिएको छ। उपकार सेवा नेपालले आगामी दिनमा पनि आवश्यकता भएका व्यक्तिहरूलाई यस्तै सामाजिक सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।























