२०८३ कार्तिक ७ गते शुक्रबार

वीरगञ्जको भगवती टोलमा दुर्गापूजाको नवौँ दिन सहयोगी तथा स्वयंसेवक सम्मानित

 

वीरगञ्ज महानगरपालिका–४ स्थित भगवती टोलमा श्री भगवती युवा क्लबको आयोजनामा भइरहेको दुर्गापूजाको नवौँ दिन पूजा व्यवस्थापनमा सहयोग पुर्‍याउने सहयोगी, धार्मिक व्यक्तित्व, जजमान तथा स्वयंसेवकहरूलाई सम्मान गरिएको छ।

पूजा पण्डालभित्र आयोजित सम्मान कार्यक्रममा दुर्गापूजा समितिका संस्थापक अध्यक्ष एवं समाजसेवी प्रकाश उपाध्यायले ज्योतिष पण्डित पुरुषोत्तम दुबे र उहाँकी धर्मपत्नी, पण्डित रजनिकान्त दुबे, मुख्य जजमान धिरज साह र उहाँकी धर्मपत्नी विभा साह, स्वयंसेवक संयोजक अनमोल खानलाई सम्मान गर्नुभएको थियो।

त्यसैगरी, अन्य स्वयंसेवकहरूलाई दुर्गापूजा समितिका पूर्वअध्यक्ष शर्मा गोसाई, सुमित पटेल तथा समाजसेवी श्याम केसीले खादा ओढाएर सम्मान गर्नुभएको थियो। कार्यक्रमले दुर्गापूजा सफल बनाउन योगदान पुर्‍याउने व्यक्तिहरूको हौसला बढाउनुका साथै सामाजिक सद्भाव र आपसी सहयोगको भावनालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन दुर्गापूजा समितिका पूर्वअध्यक्ष सर्दुल भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा समितिका पदाधिकारी, सदस्य, स्थानीयवासी तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो।

वीरगञ्ज महानगरपालिका–४ स्थित भगवती टोलमा श्री भगवती युवा क्लबको आयोजनामा विगत ११ वर्षदेखि ठूलो दुर्गा प्रतिमा स्थापना गरी भव्य रूपमा दुर्गापूजा हुँदै आएको छ। स्थानीय टोलवासीको आर्थिक तथा भौतिक सहयोग र सहभागितामा प्रत्येक वर्ष पूजा आयोजना गरिँदै आएको समितिका पूर्वअध्यक्ष सर्दुल भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार स्थानीयवासीको एकता, सहयोग र धार्मिक आस्थाका कारण विगत ११ वर्षदेखि निरन्तर रूपमा दुर्गापूजा सञ्चालन गर्न सम्भव भएको हो। यस वर्ष पनि टोलवासीको उल्लेखनीय सहभागितामा पूजा तथा धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।

आयोजकका अनुसार दुर्गापूजाको स्थापनाकालदेखि नै ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेले विधिपूर्वक पूजाआजा गराउँदै आउनुभएको छ। यस वर्षको पूजामा मुख्य जजमानका रूपमा धिरज साह र उहाँकी धर्मपत्नी विभा साह सहभागी रहनुभएको छ।

पूजा व्यवस्थापन तथा सञ्चालनका लागि समितिका पदाधिकारी र सदस्यहरू सक्रिय रूपमा खटिएका छन्। कार्यक्रममा समितिका संस्थापक अध्यक्ष एवं समाजसेवी प्रकाश उपाध्याय, सचिव दिपेश सिंह, कोषाध्यक्ष विराट सिंह, उपाध्यक्ष रोहन जैसवाल, स्वयंसेवक संयोजक अनमोल ठकुराईलगायतको सहभागिता रहेको छ।

स्थानीयवासीको सहयोग र सहभागितामा आयोजना हुँदै आएको भगवती टोलको दुर्गापूजाले धार्मिक परम्पराको संरक्षण गर्नुका साथै सामाजिक एकता, सद्भाव र सामूहिक सहकार्यको सन्देश प्रवाह गर्दै आएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM