२०८३ कार्तिक २० गते बिहीबार

सगरमाथा एकेडेमीमा दीपावली तथा छठ पर्वको अवसरमा भव्य दियो निर्माण तथा रंगोली कार्यक्रम सम्पन्न

 

 

सगरमाथा एकेडेमी स्कुलको प्राङ्गणमा दीपावली तथा छठ पर्वको पावन अवसरमा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता, कला र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले भव्य दियो निर्माण तथा रंगोली कार्यक्रम सम्पन्न भएको छ।विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताको अध्यक्षतामा एवं सुरजीदेवी स्कुलका पूर्वप्रधानाध्यापक लालबाबु तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा विशिष्ट अतिथि तथा निर्णायक (जज) का रूपमा कलाकार एवं चित्रकार मुकेश महतो लगाएतकाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई दुई फरक विधामा विभाजन गरिएको थियो। कक्षा १ देखि ४ सम्मका साना विद्यार्थी भाइबहिनीहरूका लागि आकर्षक तथा सिर्जनात्मक दियो निर्माण प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूका लागि विभिन्न रङहरूको संयोजनबाट आकर्षक रंगोली निर्माण गरी आफ्नो कला, कल्पना र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।

विद्यार्थीहरूले अत्यन्त उत्साह र लगनशीलताका साथ आ–आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए। विशेषगरी साना विद्यार्थीहरूले बनाएका आकर्षक दियो तथा ठूला कक्षाका विद्यार्थीहरूले तयार पारेका मनमोहक रंगोलीहरूले विद्यालयको वातावरणलाई दीपावलीमय बनाएको थियो।यसका साथै, विद्यार्थीहरूले छठ पर्वको मौलिक संस्कृति झल्काउने झिझिया नृत्य तथा अन्य मनोरञ्जनात्मक सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएका थिए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूद्वारा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।कार्यक्रममा विद्यालयका संजीव यादव कार्यक्रम संचालक गरेका थिए भने उपस्थित शिक्षिका रिंकु कर्ण, मुना पटेल, अशीम चौधरी, सुनीता साह, शिक्षक शिवकुमारलगायत अन्य शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता तथा सहयोग रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालबाबु तिवारीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो। विद्यार्थी भित्र लुकेको प्रतिभा पहिचान गरी त्यसलाई उचित अवसर प्रदान गर्नु विद्यालयको महत्वपूर्ण दायित्व भएको उहाँको भनाइ थियो।

त्यसैगरी, विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताले विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य दिँदै भन्नुभयो “शिक्षा केवल किताबका पानामा सीमित हुँदैन। शिक्षा भनेको जीवनका हरेक क्षेत्रमा आफ्नो प्रतिभा, सिर्जनशीलता, अनुशासन र आत्मविश्वास प्रदर्शन गर्न सक्ने क्षमता विकास गर्नु हो। साना हातले बनाएको एउटा दियो होस् वा ठूला विद्यार्थीले तयार पारेको एउटा रंगोली, हरेक सिर्जनाभित्र एउटा नयाँ सोच र सम्भावना लुकेको हुन्छ।”
उहाँले थप भन्नुभयो, “जीवनमा सधैँ प्रथम हुनुपर्छ भन्ने छैन, तर हरेक काममा आफ्नो उत्कृष्ट प्रयास गर्नुपर्छ। पुरस्कार जित्नु ठूलो कुरा हो, तर सहभागिता जनाउनु, नयाँ कुरा सिक्नु र आफ्नो प्रतिभा प्रस्तुत गर्नु अझ ठूलो उपलब्धि हो। आजको सानो प्रयास नै भोलिको ठूलो सफलताको आधार बन्न सक्छ।”

कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक सोच, आत्मविश्वास, आपसी सहयोग, सांस्कृतिक चेतना तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM