वीरगञ्ज । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा समाजसेवी प्रकाश उपाध्यायले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई रात्री भोजन गराएका छन्।
वीरगञ्ज महानगरपालिका–२५ स्थित मानव सेवा आश्रममा बिहीबार आयोजित कार्यक्रममा समाजसेवी उपाध्यायले आश्रममा आश्रित करिब ५० जनालाई शुद्ध शाकाहारी भोजनको व्यवस्था गरेका हुन्। कार्यक्रममा सारदुल भट्टराई, सुवास भट्टराईलगायतको उपस्थिति रहेको थियो।
चाडपर्वको समयमा समाजका अधिकांश मानिसहरू मिठा परिकार तथा विभिन्न परिकार खाएर हर्षोल्लासका साथ पर्व मनाइरहँदा मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूले पनि खुसीका साथ चाडपर्व मनाउन सकून् भन्ने उद्देश्यले भोजन कार्यक्रम आयोजना गरिएको समाजसेवी उपाध्यायले जानकारी दिए।
उनले चाडपर्व केवल आफ्नो परिवार र आफन्तसँग खुसी साटासाट गर्ने अवसर मात्र नभई असहाय, बेसहारा तथा विपन्न व्यक्तिहरूको दुःख र पीडामा साथ दिने अवसर पनि भएको बताए।
समाजमा रहेका असहाय तथा सहाराविहीन व्यक्तिहरूलाई माया, सम्मान र सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै उपाध्यायले यस्ता मानवीय सेवाका कार्यले सामाजिक सद्भाव, सहयोग र भाइचाराको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
चाडपर्वको अवसरमा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराउने कार्यले उनीहरूमा आत्मीयता र खुसीको अनुभूति गराउनुका साथै समाजमा मानव सेवा र परोपकारको सकारात्मक सन्देशसमेत प्रवाह गरेको छ।
मानव सेवा नै सबैभन्दा ठूलो धर्म भन्ने भावनालाई आत्मसात् गर्दै चाडपर्वको खुसी असहाय तथा बेसहारा व्यक्तिहरूसँग बाँड्ने उद्देश्यले गरिएको यस कार्यको सहभागीहरूले प्रशंसा गरेका थिए।
























