२०८३ कार्तिक २० गते बिहीबार

नेशनल प्याब्सनको विशेष (विधान) अधिवेशनबाट प्रादेशिक संरचनाअनुसार विधान संशोधन प्रस्ताव पारित

 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को विशेष (विधान) अधिवेशनबाट संस्थाको विधानलाई प्रादेशिक संरचनाअनुसार संशोधन गर्ने प्रस्ताव पारित भएको छ। करिब ८५० विद्यालयका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न अधिवेशनले संस्थाको वरिष्ठतालाई आधार मानी श्रीमती गीता क्षेत्री राणालाई संयोजकको जिम्मेवारी प्रदान गर्दै उहाँकै संयोजकत्वमा विधान संशोधन प्रक्रिया अघि बढाएको हो।

नेशनल प्याब्सनकी संयोजक गीता क्षेत्री राणाका अनुसार नेपाल सरकार, गृह मन्त्रालयबाट मिति २०८३ कार्तिक १३ गते चलानी नम्बर ५३८ मार्फत विशेष (विधान) अधिवेशन स्थगित गर्न निर्देशनसहितको परिपत्र प्राप्त भएको थियो। उक्त परिपत्रको सम्मान गर्दै अधिवेशन स्थगित गर्ने निर्णयसमेत गरिएको थियो।

तर, सोही मितिमा गृह मन्त्रालयबाट जारी अर्को पत्र (चलानी नम्बर ५४०) मा उल्लेखित निर्देशनलाई समेत आत्मसात् गर्दै करिब ८५० विद्यालयका प्रतिनिधिहरूको सहभागितामा अधिवेशनको कार्यक्रम अघि बढाइएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो।

अधिवेशनमा सहभागी विद्यालयका प्रतिनिधिहरूले संस्थाको वरिष्ठतालाई आधार मानी गीता क्षेत्री राणालाई संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेका थिए। उहाँको संयोजकत्वमा सम्पन्न भेलाले गृह मन्त्रालयबाट विधान संशोधनका सम्बन्धमा जारी गरिएका निर्देशन तथा प्रावधानहरूको पूर्ण पालना गर्दै संस्थाको विद्यमान विधानमा प्रादेशिक संरचनाअनुसार आवश्यक व्यवस्था समावेश गर्ने प्रस्ताव पारित गरेको हो।

त्यसैगरी, भेलाले संशोधित विधान नेपाल सरकार, गृह मन्त्रालयमा आवश्यक जानकारी तथा स्वीकृतिका लागि पठाई अभिलेखीकरण गर्ने निर्णयसमेत सर्वसम्मत रूपमा गरेको छ।

संस्थाको विधानलाई प्रादेशिक संरचनाअनुरूप व्यवस्थित र समयानुकूल बनाउने उद्देश्यले गरिएको संशोधन प्रक्रिया करिब ८५० विद्यालयका प्रतिनिधिहरूको सहभागिता, सहमति र सामूहिक निर्णयका आधारमा अघि बढाइएको संयोजक गिता क्षेत्री राणाले स्पष्ट पार्नुभयो।

उक्त निर्णयले नेशनल प्याब्सनको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउँदै प्रादेशिक तहमा संस्थाको गतिविधि सञ्चालन गर्न आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM