२०८३ असार १३ गते शनिबार

पर्सा जिल्ला अदालतमा कानुन दिवस भव्य रूपमा सम्पन्न, न्यायकी देवीको मुर्ति अनावरणसहित न्यायप्रणाली सुदृढीकरणमा जोड

 

 

अभिलाष गुप्ता
बिरगंज, २६ वैशाख

 

कानुन दिवस २०८२ को अवसरमा पर्सा जिल्ला अदालतले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा कानुन दिवस मनाएको छ। कार्यक्रममा प्रमुख आकर्षणको रूपमा नव निर्माण गरिएको न्यायकी देवी (Statue of Lady Justice) को मुर्ति अनावरण गरिएको छ, जसले नेपाली न्याय प्रणालीको प्रतीकात्मक सुदृढीकरणको संकेत गरेको छ।

पर्सा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश दीपक खनालले न्यायकी देवीको मुर्ति अनावरण गर्दै कानुनप्रति श्रद्धा र न्यायप्रणालीप्रतिको विश्वास अझ प्रगाढ बनाउने दायित्वको स्मरण गराएका थिए। उनले निष्पक्ष, पारदर्शी र प्रभावकारी न्याय प्रदान गर्न अदालत प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रममा अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले कानुन दिवसको शुभकामना मन्तव्य राख्दै जनताको मौलिक हकको संरक्षण, कानुनी चेतना अभिवृद्धि, न्यायमा पहुँच तथा पारदर्शिताको महत्वलाई उजागर गरे। उनले कानुन दिवसलाई कानुनी अभ्यास, सुधार र जनसहभागिताको माध्यमका रूपमा लिइनुपर्ने बताए।

विशेष कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष अधिवक्ता कमलमोहन पोख्रेल, बिरगञ्ज स्कुल अफ लका अध्यक्ष अधिवक्ता चन्द्रिका प्रसाद पटेल, कानुन संकायका विद्यार्थी, जिल्ला अदालतका न्यायाधीशहरू, अधिवक्ता तथा कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।

वक्ताहरूले सम्बोधनका क्रममा न्याय प्रणालीलाई अझ सरल, जनमुखी, समावेशी र आधुनिक बनाउनेतर्फ सबै पक्ष—अदालत, कानुन व्यवसायी तथा कानुनी शिक्षण संस्थाहरू—बीच सहकार्य र संवाद अपरिहार्य रहेको धारणा व्यक्त गरे।

कार्यक्रमले कानुनी सचेतनाका साथै न्यायमा जनविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। न्यायकी देवीको अनावरणले नेपाली न्याय क्षेत्रको आधुनिकीकरण र मूल्य–मान्यताप्रति श्रद्धा प्रकट गर्ने ऐतिहासिक अवसरको रूपमा लिइएको छ।

पर्सा जिल्ला अदालतको यो पहलले न्यायको सुलभ पहुँच, न्याय प्रणालीको पारदर्शिता, र कानुनी सशक्तीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM