अभिलाष गुप्ता
वीरगन्ज, २६ वैशाख
वीरगन्जमा शुक्रबार एसईई परीक्षा दिएर कक्षा ११ अध्ययनतर्फ उन्मुख विद्यार्थीहरूलाई लक्षित गर्दै स्टडी ल्यान्ड एजुकेशन फाउण्डेशनको आयोजनामा क्यारियर गाइडेन्स तथा मोटिभेसनल कार्यक्रम सम्पन्न भएको छ।
फाउण्डेशनका प्रबन्ध निर्देशक अमन पटेल (सोनू) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख हरि राउतले उद्घाटन गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा प्रमुख राउतले विद्यार्थीहरूलाई सही विषय छनोट गरी भविष्यको मार्ग पहिल्याउन सुझाव दिनुभयो।
कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष प्रदीप कुमार चौरसिया, नेपाली कांग्रेसका युवा नेता कञ्चन झा, ब्राइट प्लस टु कलेजका प्रबन्ध निर्देशक मुकेश गुप्तालगायतले सम्बोधन गरेका थिए। वक्ताहरूले निरन्तर अध्ययन र परिश्रममार्फत सफलता हासिल गर्न सकिनेमा जोड दिएका थिए।
मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ताले प्रशिक्षण सत्र सञ्चालन गर्दै मानवताको महत्व र सामाजिक सेवामा विद्यार्थीहरूको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। “अहिलेको मेहनतले भविष्य उज्यालो बनाउँछ,” उहाँले भन्नुभयो।
कार्यक्रममा वीरगन्जका विभिन्न स्थानबाट ५ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको जानकारी संस्थाकी प्रतिनिधि चञ्चल झाले दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य मनिष गिरीले व्यक्त गर्नुभएको थियो भने सञ्चालन सञ्चारकर्मी सूर्यनारायण विकले गर्नुभएको थियो।
यो कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनप्रति प्रेरणा र मार्गदर्शन प्रदान गर्ने विश्वास आयोजक संस्थाको रहेको छ।









