अभिलाष गुप्ता
बैशाख २८ बिरगंज
बुद्धजयन्तीको अवसरमा गौतम माध्यमिक विद्यालयद्वारा आयोजित अन्तरगृह चित्रकला तथा रंग प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। ‘शान्तिका अग्रदूत’ भगवान गौतम बुद्धको जन्मोत्सवको सन्दर्भमा विद्यालयले सृजनशीलता अभिव्यक्त गर्ने उद्देश्यसहित आयोजना गरेको उक्त कार्यक्रममा कक्षा एल.के.जी देखि कक्षा ६ सम्मका विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए।
प्रतियोगितामा बालबालिकाहरूले आफ्ना कल्पनाशक्ति र सिर्जनात्मक क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए। विभिन्न रंग र आकृतिहरूको माध्यमबाट बुद्धका जीवनदर्शन, शान्ति, अहिंसा र सहिष्णुतालाई अभिव्यक्त गर्ने प्रयास गरिएको चित्रहरूले सहभागीहरू तथा दर्शकहरूको मन जितेका थिए।

विद्यालयका निर्देशक एवं समाजसेवी सोनम लामाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमलाई अझ विशेष बनाएको थियो। उनले कार्यक्रममा सम्बोधन गर्दै बालबालिकाहरूको प्रतिभामा प्रशंसा व्यक्त गर्दै भने, “तपाईंहरूको रंगहरूले शब्दहरू भन्दा ठूलो स्वरमा बोले, र तपाईंहरूको रचनात्मकताले सम्पूर्ण कार्यक्रम उज्यालो बनायो।”
प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिएका थिए।कार्यक्रमको समापनमा विद्यालय प्रशासनले सबै सहभागीप्रति गर्व व्यक्त गर्दै विजेताहरूलाई बधाई दिएको थियो। “यस्ता कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास र सिर्जनात्मक सोचको विकास हुन्छ,” विद्यालयका प्रधानाध्यापकले बताए।

कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त आयोजनाले न केवल सांस्कृतिक र धार्मिक चेतना अभिवृद्धि गरायो, तर बालबालिकाको समग्र व्यक्तित्व विकासमा पनि सकारात्मक प्रभाव पारेको छ।









