पर्साको छिपहरमाई गाउँपालिका–५, भिस्वाबाट सशस्त्र प्रहरीले ५ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट जयमंगलापुरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई रोकेर चेकजाँच गरेको थियो। सो क्रममा मोटरसाइकलको ट्यांकी र सिटमुनि लुकाइछिपाई राखिएको ५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै भारतीय नागरिकको नाम भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन।
बरामद गाँजा र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
























