२०८३ भाद्र ९ गते मंगलवार

वीरगञ्ज–४ का वडा अध्यक्ष कानुको स्पष्टिकरण: “सुरज चन्द्रवंशीले लगाएको आरोप निराधार, अदालतको आदेशअनुसार प्रक्रिया अघि बढेको हो”

 

वीरगञ्ज महानगरपालिका–४ का वडा अध्यक्ष जगत साह कानु ले ओम साई क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरका सञ्चालक सुरज कुमार चन्द्रवंशीले आफूमाथि लगाएका आरोप पूर्ण रूपमा निराधार रहेको बताएका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै वडा अध्यक्ष कानुले नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरेर जबरजस्ती घर खाली गराउन खोजिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारे। उनले अदालतको फैसला तथा नेपालको प्रचलित कानुनी प्रक्रियाअनुसार नै घरजग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको बताए।

उनका अनुसार विवादित घरजग्गा बैंकको लिलामी प्रक्रियामार्फत २ करोड ४१ लाख रुपैयाँ मा सबिता देवी सर्राफ को नाममा आएको हो। अदालतबाट सबिता देवीको पक्षमा फैसला भएपछि फैसला कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई घरजग्गा खाली गर्न आग्रह गरिएको उनले जानकारी दिए।

वडा अध्यक्ष कानुले २०८३ असार ११ गते अदालतबाट सबिता देवीको पक्षमा फैसला भएको र असार १५ गते सबिता देवीले घरजग्गा खाली गराइदिन वडा कार्यालयमा निवेदन दिएको बताए। सोही निवेदन र अदालतबाट प्राप्त पत्रका आधारमा वडा कार्यालयले कानुनअनुसार सूचना जारी गरी आवश्यक प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

विवाद समाधानका लागि वडा कार्यालयले दुवै पक्षलाई आपसी सहमतिमा बसेर समस्या समाधान गर्न पटक–पटक आग्रह गरेको पनि कानुले बताए। तर सुरज कुमार चन्द्रवंशीले अटेरी गरेका कारण विवाद थप जटिल बनेको र त्यसपछि वडा कार्यालयमाथि नै गलत आरोप लगाइएको उनले आरोप लगाए।

उनले घरजग्गाका सम्बन्धित पक्ष पितिड सर्राफ ले बैंकको २ करोड ४१ लाख रुपैयाँ तथा दुई वर्षको ब्याज बुझाएमा उक्त घरजग्गा तत्कालै सुरज कुमार चन्द्रवंशीको नाममा पास गरिदिने प्रतिबद्धतासमेत जनाएको जानकारी दिए।

वडा अध्यक्ष कानुले चन्द्रवंशीको नियतमाथि समेत प्रश्न उठाउँदै बैंकको लगानी डुबाउने तथा अर्काको नाममा रहेको जग्गा हडप्ने मनसाय देखिएको आरोप लगाए। उनले वडा कार्यालयले कुनै व्यक्तिविशेषको पक्ष वा विपक्षमा नभई अदालतको आदेश र प्रचलित कानुनअनुसार मात्र आफ्नो दायित्व निर्वाह गरेको स्पष्ट पारे।

अन्त्यमा वडा अध्यक्ष कानुले सबै पक्षलाई कानुनी प्रक्रियाको सम्मान गर्दै आपसी सहमतिबाट विवाद समाधान गर्न आग्रह गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM