२०८२ चैत्र १९ गते बिहीबार

तेरापंथ युवक परिषद् वीरगञ्जद्वारा नेत्रदान अभियान सार्वजनिक, अन्तर्राष्ट्रिय सम्मेलनको तयारी

 

अभिलाष गुप्ता
वीरगञ्ज, जेठ १

तेरापंथ युवक परिषद् वीरगञ्ज शाखाले एक पत्रकार सम्मेलनमार्फत विगत २६ वर्षदेखि सञ्चालन गर्दै आएको सेवामूलक कार्यहरूको विवरण प्रस्तुत गर्दै आगामी योजनाहरू सार्वजनिक गरेको छ। परिषद्को मुख्य प्राथमिकता अब नेत्रदान अभियान हुने जनाइएको छ।

पत्रकार सम्मेलनमा परिषद्का प्रतिनिधि राजु बैघले परिषद्ले सेवा, संस्कार र संगठनको त्रिआयामी उद्देश्यसहित विश्वभर ३६२ शाखामार्फत समाजसेवामा सक्रिय भूमिका निर्वाह गरिरहेको जानकारी दिए। वीरगञ्ज शाखाले मात्र २०७९/८० मा आयोजित दुई दिने रक्तदान क्याम्पबाट ४२३ यूनिट र २०७८ मा ११ दिने विशेष क्याम्पमार्फत १,१२७ यूनिट रक्त संकलन गरी रेडक्रसलाई प्रदान गरेको बताइएको छ।

बैघका अनुसार अब परिषद्ले नेत्रदानलाई प्राथमिक अभियानका रूपमा अघि बढाउने भएको छ। सजिलो प्रक्रिया भए तापनि चेतनाको अभावले नेत्रदानबारे जनचेतना आवश्यक रहेको बताउँदै, परिषद्ले वीरगञ्ज महानगरपालिकाको सहकार्यमा संगोष्ठी र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए।

कार्यक्रममा परिषद्का वर्तमान अध्यक्ष लोकेश जैन, वरिष्ठ सदस्य प्रबिन जैन गान्धी तथा पूर्व अध्यक्ष राज कुमार बैधको पनि उपस्थिति थियो। सम्मेलनमा युवाहरूको स्वास्थ्य, व्यक्तित्व विकास तथा नेतृत्व क्षमताका विषयमा परिषद्ले गर्दै आएको कार्यशाला र प्रशिक्षणहरूलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरियो।

२०७९ सालमा २५औँ वर्ष (स्वर्ण जयन्ती) मनाइरहेको परिषद्ले यही जेठ १ देखि ३ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ। सम्मेलनमा तेरापंथ युवक परिषद् अन्तर्राष्ट्रिय अध्यक्ष रमेश डागाको प्रमुख आतिथ्य रहनेछ भने युवा स्वास्थ्य, सामाजिक जिम्मेवारी, नेत्रदान, र व्यक्तित्व विकाससम्बन्धी विशेष सत्रहरू सञ्चालन हुनेछन्।

कार्यक्रमको अन्त्यमा पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालसहित उपस्थित सबै पत्रकार, सहयोगी संस्था र सहभागीहरूप्रति आभार प्रकट गर्दै परिषद्ले सामाजिक सेवा र मानव कल्याणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता दोहोर्याएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM