२०८२ चैत्र १९ गते बिहीबार

किरण आँखा अस्पतालको सहकार्यमा ३०० भन्दा बढी बिरामीको आँखा परीक्षण, निःशुल्क औषधि वितरण

 

 

अभिलाष गुप्ता
रक्सौल,१ जेष्ठ

अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाको तत्वावधानमा शहरको बैंक रोडस्थित श्री सत्यनारायण मारवाड़ी पंचायती मन्दिर परिसरमा आज एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। सो शिविरको उद्घाटन किरण आँखा अस्पतालका डा. अमर क्याल, सम्मेलनकी अध्यक्ष सोनु काबरा, पूर्व अध्यक्ष वीणा गोयल, सचिव संगीता धानोठिया, रचना रूँगटा, सुशीला धानोठिया, सीमा अग्रवाल, शिव कुमार केशान, राजकुमार अग्रवाल, सीताराम गोयल र विमल रूँगटा लगायतले संयुक्तरूपमा दीप प्रज्वलन गरी गर्नु भएको हो।

शिविरमा उपस्थित डा. अमर क्यालले आँखा मानव शरीरको अति संवेदनशील अंग भएकोले यसको नियमित जाँच आवश्यक रहेको बताउँदै आँखाका सामान्य समस्याले पनि गम्भीर दृष्टि दोष निम्त्याउन सक्ने उल्लेख गर्नुभयो। उहाँले विशेषगरी आजको तनावपूर्ण जीवनशैलीले आँखासम्बन्धी समस्या बढाइरहेको बताउँदै समयमा उपचार गरिएमा अन्धोपनबाट जोगिन सकिने जानकारी दिनुभयो।

शिविरमा नेपाल (बीरगंज) की प्रख्यात स्त्री रोग विशेषज्ञ डा. नवनीत राज पाण्डेयलाई विशेष सम्मान स्वरूप अंगवस्त्र प्रदान गरिएको थियो। डा. पाण्डेयले महिला सम्मेलनको यस सामाजिक सेवाको खुलेर प्रशंसा गर्नुभयो।

शिविरमा किरण आँखा अस्पतालका डा. अमर क्यालसहित एन्ड्रिका (अोप्टोमेट्रिस्ट), गुडिया, कविता (कोअर्डिनेटर), कुमार जी, रुबी, मनदीप र रामबाबू लगायत स्वास्थ्यकर्मीको टोलीले सक्रिय सेवा प्रदान गरेका थिए। शिविरमा ३०० भन्दा बढी बिरामीहरूको आँखाको जाँच गरिएको थियो। जाँचमा मुख्यतः आँखाको रातोपन, पानी बग्ने, दृष्टिमा कमजोरी, मोतियाबिन्दु लगायत समस्या देखा परेका थिए र बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

महिला सम्मेलनकी अध्यक्ष सोनु काबराले “नर सेवा नारायण सेवा”को भावना अनुरूप यस्तो शिविरको आयोजना गरिएको बताउँदै रक्सौल शहरका वरिष्ठ नागरिकहरूसँगै सरस्वती विद्या मन्दिरका सयभन्दा बढी विद्यार्थीहरूको समेत आँखाको परीक्षण गरिएको जानकारी दिनुभयो। साथै, मोतियाबिन्दु पाईएका बिरामीहरूको निःशुल्क शल्यक्रिया महिला सम्मेलनको खर्चमा किरण आँखा अस्पतालको सहकार्यमा गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

शिविरको सफलतामा डा. नवनीत राज पाण्डेय, सोनु काबरा, वीणा गोयल, संगीता धानोठिया, अनुराधा शर्मा, शिखा रंजन, सुनीता शाह, सीमा अग्रवाल, रचना रूँगटा, सुमन धानोठिया, सारिका अग्रवाल, रेणु रूँगटा, सीताराम गोयल, शिव कुमार केशान, राजकुमार अग्रवाल र विमल रूँगटा लगायतको उल्लेखनीय योगदान रहेको थियो।

 

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM